logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हुलाकी सडकको काम अघि बढाइदिन माग


  • उज्यालो अभियान

धूलाम्मे अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडक । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – अत्यन्तै जरजर अवस्थामा रहेको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य अघि बढाइदिन मागगर्दै विभागिय मन्त्री र सडक विभागका महानिर्देशकसँग आग्रह गरिएको छ ।

सदरमुकाम मलंगवा नगरपालिकाका प्रमुख निरसल साह नेतृत्वको टोलीले संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र सडक विभागका महानिर्देशक अर्जुनजंग थापासँग भेट गरेर सडकको काम अघि बढाइदिन माग गरेको हो । भेटमा मन्त्री यादव र महानिर्देशक थापाले सडकको काम अघि बढाउन ठेकेदार र अन्य निकायलाई घच्घच्याउने आश्वासन दिएका नगरप्रमुख साहले बताए ।

यहाँको पूर्व–पश्चिम हुलाकी राजमार्ग अहिले असाध्य जिर्ण अवस्थामा रहेको छ । सडकको धूलोले यात्रुसँगै सडक छेउछाउ घर भएका वासिन्दा मारमा परिरहेका छन् । जिल्लाका सांसद, पालिकाका प्रमुख, अन्य सरोकारवाला र सर्वसाधारणले बारम्बार आन्दोलनको कार्यक्रम गर्नेदेखि सरकारका मन्त्री र उच्च अधिकारीहरुसँग भेट गरेर सडकको दूरावस्थाबारे ध्यानाकर्षण गराएपनि हुलाकी सडक बन्न सकेको छैन् ।

हिउँदमा अत्यन्तै धूलाम्मे र वर्षायाममा हिलाम्मे हुने सडकका कारण जिल्लावासी हैरान भइरहेका छन् । सदरमुकाम मलंगवा नगरपालिकासहित ब्रह्मपुरी गाउँपालिका, पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, गोडैता नगरपालिका, रामनगर गाउँपालिका र बलरा नगरपालिकालाई छुने जिर्ण अवस्थाको हुलाकी सडकका कारण यि सात पालिकासहित दक्षिणी भेगका एक दर्जन पालिकाका वासिन्दा आजित भइरहेका छन् ।