नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, स्थित नवलपुरमा रहेको नवलपुर मोडेल अस्पतालमा जिल्ला प्रशासन कार्यालयको टोलीले मंगलबार छापा मारेको छ ।
अस्पतालको विरुद्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि मंगलबार दिउँसो कार्यालयबाट खटिएको टोलीले आकस्मिक रुपमा अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालको ओपीडी, अपरेशन थिएटर र फार्मेसीमा लापरवाही देखिएकाले तत्काल ती सेवा बन्द गरेर एक साताभित्र अस्पतालका आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय मलंगवामा आउन निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।
अनुगमनका क्रममा अप्रेसन थिएटर बन्द रहेको बताएपनि गर्भपतन गराउने औजारसहितका सरसामग्री भेटिएको, कर्मचारीहरुलाई काममा लगाएर पारिश्रमिक नदिई पटक–पटक नयाँ कर्मचारी राख्ने गरेकोजस्ता हेलचेक्र्याइँ भेटिएको बताइएको छ । केही दिनअघि मात्रै औषधि व्यवस्था विभागको टोलीले हरिवनस्थित सरस्वती अस्पतालको फार्मेसीमा छड्के अनुगमन गरेर शिल गरेको थियो ।
पछिल्लो समय सर्लाहीमा बाक्लै मात्रामा खुलेका अस्पतालहरुमा लापरवाही बढेको जनगुनासो आइरहेको छ । बागमतीमा रहेको बागमती मोडेल अस्पतालले पनि केही साताअघि बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको थियो ।