अजय महराको न्यायका लागि सीडीओ कार्यालय मलंगवामा जारी धर्ना । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – करिव ६ महिनादेखि वेपत्ताभएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–२, बेल्हीका अजय महराका परिवारको लागि न्याय मागगर्दै ३ दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा धर्ना जारी छ ।
बहुजन एकता पार्टी नेपाल जिल्ला समिति सर्लाहीले अजयको शास देउ की लास देउ भन्दै सीडीओ कार्यालयमा धर्ना दिइरहेको हो । १८ वर्षीय अजयलाई गाउँकै जसोधा देवी र रामविनेश रायले काम गराउन भनी लगेको र त्यसदिनदेखि अजय सम्पर्कमा नरहेको परिवारका सदस्यहरुले बताएका छन् ।
बहुजन एकता पार्टीले घटनाको अनुसन्धान हुनुपर्ने, अजयलाई बेपत्ता पार्नेहरुमाथि कारवाही हुनुपर्ने, उनको अवस्था के छ ? भनेर सार्वजनिक गर्नुपर्ने लगायतको माग राखेर धर्ना दिइरहेको छ । छोराको लागि न्याय माग्न जाँदा अजयका परिवारलाई प्रहरीले उल्टै हप्कीदप्की गर्ने गरेको बहुजन एकता पार्टीले उल्लेख गरेको छ ।
आफूहरुको मागमा सुनुवाई नहुन्जेल धर्ना कार्यक्रम जारी रहने बहुजन एकता पार्टी नेपालका वरिष्ठ नेता राजाराम पासवानले बताए । उनले माग सम्वोधन गर्न अहिलेसम्म सुनुवाई नै नभएको गुनासो गरेका छन् ।
यसैबीच, सर्लाहीको हरिवन नगरपालिका–१०, ताईवानका बालकृष्ण श्रेष्ठको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन माग गर्दै बुधबार नेकपा माओवादी केन्द्रले हरिवनस्थित ईलाका प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । २८ वर्षीय श्रेष्ठ गएको असोज ४ गते डिसको तार विस्तार गर्नेक्रममा पोलबाट लडेर गम्भीर घाईते भएका थिए ।
उनको पछि उपचारकै क्रममा मृत्युभयो । अमन केवल टिभी तथा म्याक्स मिडिया प्रा.लि.मा कार्यरत श्रेष्ठको परिवारले उनको उपचारमा १६ लाख खर्च भएको बताएको छ ।
तर बालकृष्णले काम गरेको केवल टिभीले अहिलेसम्म कुनै सहयोग गरेको छैन् । विपन्न ती परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइदिन माग गर्दै माओवादी केन्द्रको नगर कमिटीले प्रहरी प्रशासन घच्घच्याएको हो ।
५ दिनभित्र पीडितले क्षतिपूर्ति नपाए आन्दोलनमा उत्रने चेतावनीसहित ज्ञापन पत्र बुझाइएको माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्तले बताए ।