बरहथवा – मुख्यमन्त्री लालबाबु राउतले सोमबार सर्लाहीको बरहथवा नगरपालिका–१७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका छन् ।
उनले कार्यक्रममा मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र गरिरहेका आरोप लगाए । उनले प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन सङ्घीय सरकारसँग निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गरेका छन् ।
उनले कोरोनाको कारण अवरुद्ध भएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः चाँडै सूचारु हुने प्रतिवद्धता व्यक्त गरेका छन् । बरहथवा नगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य द्वोय अशोक यादव र सञ्जय कुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको आतिथ्यता रहेको थियो ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख बजेटगरी ४६ लाख रुपैयाँ लागतमा बरहथवा नगरपालिका–१७, श्रीपुर नयाँटोल कटानीबजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको हो ।