बरहथवा – सर्लाहीको क्षेत्र नं. ३ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत शेरबहादुर देउवा–बिमलेन्द्र निधी प्यानल बिजयी भएको छ ।
२१ सदस्यीय क्षेत्रीय कार्य समितिमा देउवा–निधी पूरै प्यानल बिजयी भएको छ भने महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन इतर पक्षका एक जना मात्रै बिजयी भएका छन् । क्षेत्रीय कार्य समितिमा ३९६ मत ल्याएर पुण्य प्रसाद घिमिरे सभापतिमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका भिखारी रायले ३७४ मत प्राप्त गरे ।
विशेष गरी केन्द्रीय उपसभापति विमलेन्द्र निधी निकट हरेस महतोले पुण्य प्रसाद घिमिरेलाई र संस्थापन इतर निकटका विनोद खनालले भिखारी रायलाई सभापतिसहित उनीहरुको प्यानल तयार पारेका थिए । पूर्व जिल्ला उपसभापति विनोद खनालले तयार पारेको भिखारी राय नेतृत्वको प्यानल नै पराजित भएको छ ।
यस्तै, २४ जना महाधिवेशन प्रतिनिधिमध्ये २३ जना देउवा–निधी प्यानलकै उम्मेदवार बिजयी भएका छन् । सो प्यानलबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या यादव मात्रै पराजित भएका छन् ।
यता संस्थापन इतरबाट नेता विनोद खनाल एक जना मात्रै महाधिवेशन प्रतिनिधिमा बिजयी भएका छन् । क्षेत्र नं. ३ को बरहथवास्थित पार्टी कार्यालयमा आयोजित क्षेत्रीय अधिवेशनको बिहीबार राती अबेर अन्तिम नतिजा आएसँगै सर्लाहीमा ४ वटै निर्वाचन क्षेत्रको नतिजा आएको छ ।
कांग्रेसको क्षेत्रीय महाधिवेशन अन्तर्गत क्षेत्र नं. १ र २ मा संस्थापन इतर र क्षेत्र नं. ४ मा संस्थापन पक्ष बिजयी भएको छ ।