logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सर्लाहीमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु, १, २ र ४ मा उम्मेदवारहरुको मनोनयन दर्ता


  • उज्यालो अभियान

क्षेत्र नं. १ मा मनोनयन दर्ता हुँदै । (तस्बीर : उज्यालो अभियान)

लालबन्दी – लामो विवादपछि सर्लाहीमा सोमबारबाट सत्तारुढ नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशन सुरु भएको छ ।

जिल्ला निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन प्रक्रिया प्रारम्भ भएको उज्यालो अभियानसँग बताए । क्षेत्र नं. १ को ईश्वरपुरस्थित बयलवास, क्षेत्र नं. २ को मलङ्गवा, क्षेत्र नं. ३ को बरहथवा र क्षेत्र नं. ४ को गोडैतास्थित रामवनमा क्षेत्रीय अधिवेशन प्रारम्भ भएको हो ।

क्षेत्र नं. ३ बाहेक अन्य क्षेत्रमा अहिले साँझसम्म पनि मनोनयन दर्ता भइरहेको छ । क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवासमा जारी मनोनयन दर्ता कार्य अझै आधा÷एक घण्टा चल्ने बुझिएको छ ।

१ नम्वर क्षेत्रमा संस्थापन पक्ष अर्थात जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट कुवेर आचार्य र संस्थापन इतर अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट हरि लुंगेली क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन् । मनोनयन दर्ता भएका १, २ र ४ निर्वाचन क्षेत्रमा मंगलबार बिहान ८ बजेबाट मतदान सुरु गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत ज्ञवालीले बताए ।

निर्वाचन अधिकृत ज्ञवालीले क्षेत्र नं. ३ मा पनि मंगलबार नै मनोनयन दर्ता गरेर त्यहाँ निर्वाचन गराइने बताए । सो निर्वाचन क्षेत्रको कविलासी नगरपालिका–४, हेमपुरबाट एक जना नक्कली मतादाता घुसाएर प्रतिनिधि कायम गर्न रोजेपछि विवाद भएकाले सोमबार मनोनयन दर्ता हुन नसकेको निर्वाचन अधिकृत ज्ञवालीले बताए ।

विवादले गर्दा सर्लाहीमा अधिवेशन नहुने भएपछि केन्द्रले नै निर्वाचन समिति र सुरक्षा अधिकारीलाई जसरी पनि अधिवेशन गराउन निर्देशन दिएको बुझिएको छ । अधिवेशन नभए सर्लाहीबाट १४ औँ महाधिवेशनमा प्रतिनिधित्व नहुने भएपछि केन्द्रबाट जसरी भएपनि अधिवेशन गराउन दबाब आएको स्रोतले जनाएको छ ।

सर्लाहीमा दुई पक्षबीच सहमती जुट्न नसक्दा गाउँपालिका तथा नगरपालिका, प्रदेश र जिल्ला अधिवेशन भने हुन सकेन । जिल्ला नै छुट्ने भएपछि अन्य तहको अधिवेशन छाडेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने क्षेत्रीय अधिवेशन गर्न लागिएको हो ।

क्षेत्रीय अधिवेशनले प्रत्येक क्षेत्रमा एक जना क्षेत्रीय सभापति, दुई जना सचिव, दुई जना सह–सचिव र महाधिवेशन प्रतिनिधि चयन गर्ने छ । काँग्रेसको क्षेत्रीय अधिवेशन भइरहेको चारवटै स्थानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । चारवटै स्थानमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् ।

सर्लाहीको २० वटा पालिकाका २०० वडामध्ये ३ वटा वडामा अझै नेतृत्व चयन हुन सकेको छैन् । बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र ९ अचलगढ तथा कविलासी नगरपालिकाको वडा नं. ४ हेमपुरमा विवादका कारण वडा नेतृत्व चयन हुन बाँकी रहेको छ ।

सोमबार मलङ्गवा नगरपालिकाको वडा नं. १०, कौडेना गाउँपालिकाको वडा नं. ४, ब्रह्मपुरी गाउँपालिकाको वडा नं. १ मा भने सदरमुकाम मलंगवामै मतदान गरेर नेतृत्व चयन गरिएको निर्वाचन अधिकृतको सचिवालयले जनाएको छ ।