logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस नेताहरुको राती अबेरसम्म भएको वार्ता निष्कर्षविहिन


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांगे्रस सर्लाहीका नेताहरुबीच गएराती अबेरसम्म भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।

शुक्रबार राती ९ बजेसम्म जिल्ला प्रशासन कार्यालयमा दुवै समूहका नेताहरुबीच वार्ता चलेको थियो । तर कुनै ठोस सहमती नभएपछि आज शनिबार फेरि वार्तामा बस्ने तयारी भइरहेको कांग्रेसका एक नेताले उज्यालो अभियानसँग बताए ।

पार्टीको संस्थापन र संस्थापन ईतर पक्षको विवादले सर्लाहीमा अधिवेशन नै गन्जगोल बन्दै गइरहेको छ । यसअघि शुक्रबार हिजोनै गर्ने तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेन ।

बलरा नगरपालिकाका ४ वटा वडासहित अझै ८÷९ वटा वडामै वडा अधिवेशन हुन सकेको छैन् । हिजो दिनभर लालबन्दीस्थित होटल यूनाइटेड ईनमा वार्तामा बसेका नेताहरु कुनै सहमती नभएपछि सदरमुकाम मलंगवा पुगेका थिए ।

मलंगवामा पनि जिल्ला प्रशासन कार्यालयमा ४ घण्टा बढी वार्तामा बस्दा कुनै निष्कर्ष निस्कन सकेन । रातीको वार्तामा पहिलो पटक संस्थापन पक्षका जिल्ला सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण रायपनि सहभागी थिए । यस्तै, जिल्ला सभापतिको तर्फबाट केन्द्रीय सदस्य जंगिलाल राय र पूर्व जिल्ला सभापतिको तर्फबाट सांसद अमेरश कुमार सिंह समेत वार्तामा सरिक भएका बुझिएको छ ।

दुई गुटको हानाथाप र टकराबले गर्दा बारम्बार अधिवेशन पछि धकेलिँदा पार्टीका कार्यकर्ता भने निराश भएका छन् । सर्लाही कांग्रेसको अधिवेशन गराउन केन्द्रीय निर्वाचन समितिले ४ पटकसम्म निर्वाचन अधिकृत खटाइसकेको छ ।