logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेसको अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन, सहमती नभएका ठाउँमा आज मतदान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा नेपाली काँग्रेसको अधिकांश वडाहरुमा सहमतीबाटै नेतृत्व चयन गरिएको छ ।

लामो विवादपछि जिल्लामा हिजोबाट अधिवेशन प्रक्रिया सुरु भएको थियो । हिजो पहिलो दिन १६० भन्दा बढी वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन अधिकृत भरत राउतले जानकारी दिए ।

सर्लाहीमा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिकामा गरी कूल दुई सयवटा वडाहरु रहेका छन् । लालबन्दी नगरपालिकाको १७ वटै वडामा सर्वसम्मत नेतृत्व छानिएको छ । उत्तरी भेगमा अधिकांश ठाउँमा सहमतीबाटै समिति चयन भएका छन् । हरिवन नगरपालिकाको वडा नम्बर ९ बाहेक सबै १० वटै वडामा सहमतिमा वडा अधिवेशन सम्पन्न भएको छ भने बागमती नगरपालिकाको ४ नम्बर वडामा मतदान तथा अन्य सबै वडामा सहमतिमा अधिवेशन सम्पन्न भएको छ । त्यस्तै ईश्वरपुर नगरपालिकामा पनि केही वडामा विवादका कारण स्थगित भएको छ । पर्सा गाउँपालिकाको ६ वटा वडा मध्ये २ नम्बर वडामा गोलाप्रथाबाट सबै पद चयन गरिएको स्थानीय कांग्रेस नेता काँशिनाथ प्रतिहस्तले जानकारी दिए । उनका अनुसार ४ नम्बरमा भने मतदान मार्फत नेतृत्व टुंग्याईएको थियो । पर्सामा ३ नम्बर भने केही विवादका कारण हिजो अधिवेशन हुन सकेन ।

अन्तिम प्रयास गर्दा पनि सहमती हुन नसकेका केही वडाहरुमा आज मतदानबाट टुंग्याइँदै छ । मतदान हुने वडा उत्तरी भेगको तुलनामा दक्षिणी भेगमा धेरै छन् ।

जिल्ला निर्वाचन अधिकृत राउतले सहमती नभएका वडाहरुमा आज मतपत्र छापेर मतदान प्रक्रियामार्फत नेतृत्व चुनिने जानकारी दिए । मतदानमा सम्वन्धित वडामा रहेका पार्टीको क्रियाशील सदस्यता लिएकाहरु मतदाता हुने छन् ।

हिजो विवाद भएर स्थगित भएको बलरा नगरपालिका–९, अचलगढसहित अन्य केही वडाहरुमा पनि आज फेरि अधिवेशन हुँदै छ । अचलगढमा हिजो काँग्रेसकै प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह समूहबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अंगरक्षकले एक राउण्ड हवाई फायर गरेका थिए । बलरामा ५ वटा वडामा आज अधिवेशन हुँदैछ ।

विवादमा मन्त्रीका अंगरक्षक प्रहरी हवल्दार रामचन्द्र खंग र सहयोगी रामचन्द्र महतो घाईते भएका थिए । विवाद भई तनाव हुनसक्ने भन्दै प्रहरीले बलरासहित ४ नम्वर क्षेत्रमा विशेष सुरक्षा सावधानी अपनाएको बताएको छ ।