logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेसको दुवै समूहबीच लालबन्दीमा वार्ता चल्दै


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा अहिले नेपाली कांग्रेसको दुवै समूहबीच वार्ता चलिरहेको छ ।

अधिवेशन गराउन केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत भरत राउतको रोहबरमा जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच वार्ता भइरहेको हो । यि दुई समूहको विवादले सर्लाहीमा कांग्रेसको अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन् ।

निर्वाचन अधिकृत राउतले आज वडा अधिवशेन गराउने प्रयास गरेपनि क्रियाशील सदस्यताको विवादले वडा अधिवेशन हुन सकेन् । राउतले अहिले दुवै समूहका प्रतिनिधि राखेर लालबन्दीस्थित होटल यूनाईटेड ईन डुमडुमेमा वार्ता गरिरहेका हुन् ।

वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको पक्षबाट केन्द्रीय सदस्य जंगिलाल राय, अर्का आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, लालबन्दी ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने सहभागी छन् । त्यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट जिल्ला सचिव नवीन अधिकारी, पूर्व जिल्ला उपसभापति विनोद खनाल, नेपाल शिक्षक संघका पूर्व जिल्ला अध्यक्ष कौशलकिशोर राय र नेता बलीराम झा वार्तामा बसिरहेका बुझिएको छ ।

वार्ता भइरहेको होटल बाहिर अहिले नेता कार्यकर्ताहरुको भीड छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तैनाथ भइरहेका छन् । सर्लाही कांग्रेसका जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री एवं पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा समूह अर्थात संस्थापन पक्ष र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल समूह अर्थात संस्थापन ईतर पक्षका हुन् ।

यि दुई समूहबीच केन्द्र र जिल्लामा समेत गरी अधिवेशन गराउने पटक–पटक सहमती भएपनि अन्तिममा आएर सहमती भाँडिने गरेको छ । जसले गर्दा अधिवेशन प्रक्रिया नै अघि बढ्न सकेको छैन् ।

पटक–पटक वडा अधिवेशनको मिति तोकेर पनि स्थगित हुँदा कांग्रेस सर्लाहीका आम कार्यकर्तामा अन्यौलता र नैराश्यता बढ्दै गएको छ । ७७ वटा जिल्लामध्ये अब सर्लाहीमा मात्रै कांग्रेसको अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन् ।