logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस सर्लाही विवाद : सहमतिका लागि अन्तिम प्रयास हुँदै


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेस सर्लाहीमा फेरि विवाद उत्पन्न भएपछि आज (शुक्रबार) हुने भनिएको वडा अधिवेशन अन्तिम समयमा स्थगित भएको छ । निर्वाचन अधिकृत भरत राउतले भोली (शनिबार) वडा अधिवेशन गराउन दुवै पक्षबीच सहमतिको प्रयास भईरहेको जानकारी दिए ।

पछिल्लो पटक विशेष गरी क्रियाशिल सदस्यको विषयमा विवाद भएको हो । कतिपय वडामा क्रियाशिल सदस्यता नम्बर बिनै मतदाता नामावलीमा क्रियाशिल सदस्यको नयाँ नाम थपिएको र शिक्षक खटाउने विषयमा पनि केन्द्रमा भएको सहमति विपरित खटाईएको भन्दै संस्थापन ईतर समूह अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षले असन्तुष्टि जनाएको छ । यता जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षले भने काठमाडौंमा भएको सहमति अनुसार नै निर्वाचन अधिकृतले निर्वाचन प्रकृया अगाडी बढाएपनि अर्को पक्षले अनावश्यक बखेडा झिकेको आरोप लगाएको छ ।

निर्वाचन अधिकृत राउतले दुवै पक्षका प्रतिनिधि राखेर आज (शुक्रबार) साँझसम्म सहमति गराउने र भोली (शनिबार) वडा अधिवेशन गर्ने तयारी स्वरुप अन्तिम प्रयास भईरहेको जानकारी दिए । ‘अब समय छैन सकेसम्म आज सहमति गराएर भोलीसम्म वडा अधिवेशन गराउने तयारी गर्दैछु’, निर्वाचन अधिकृत राउतले शुक्रबार बिहान उज्यालो अभियानसँग भने, ‘भोलीसम्म पनि वडा अधिवेशन सूरु हुन सकेन भने सर्लाहीबाट महाधिवेशनमा सहभागि हुन गाह्रो छ ।’

संस्थापन पक्ष निकट पार्टी सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच यसअघि मतदान अधिकृत खटाउने र निर्वाचन अधिकृतको कार्यालय राख्ने विषयमा विवाद हुँदा दुईजना निर्वाचन अधिकृत जिल्ला अधिवेशन प्रकृया नै गराउन नसकी फर्किएका थिए । गत शनिबार केन्द्रीय निर्वाचन समितिले दुवै पक्षका नेताहरुलाई बोलाएर ४ दिनसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल पश्चात सहमतिमा जिल्ला पठाएको थियो ।

सोही अनुसार तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत राउतले आज (शुक्रबार) मंसिर १० गते जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । उनले हिजो (विहिबार) मतदान अधिकृतहरुलाई मलंगवामा तालिम समेत दिएका थिए । तर बिहीबार दुई समूहबीच फेरि क्रियाशील सदस्यताको विवाद उत्पन्न भएपछि आज (शुक्रबार) भनिएको वडा अधिवेशन अचानक स्थगित भएको छ ।

सर्लाहीमा यसरी दुई पक्षको टकराबले कांग्रेसको अधिवेशन अन्यौलमय बनेको छ । यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर गएका थिए । दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरुलाई काठमाडौं बोलाएर सहमती गराई मंगलवार मात्रै जिल्ला पठाइएको भएपनि फेरि यहाँ आएपछि बिहीबारबाट विवाद सुरु भएको छ ।