हरिवन – नेपाली कांग्रेस सर्लाहीका दुई पक्षबीच काठमाडौंमा वार्ता चलिरहेको छ ।
कांग्रेस सर्लाही सभापति नागेन्द्रकुमार राय तथा पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षबीच वार्ता भईरहेको हो । संस्थापन पक्ष निकट नागेन्द्रकुमार राय र सचिब उपेन्द्रप्रसाद कुशवाहा तथा संस्थापन ईतरबाट पूर्व सभापति लक्ष्मण राय एवं सचिब नविन अधिकारी वार्तामा सहभागि छन् । केन्द्रीय सदस्य जंगिलाल रायका अनुसार अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा दुईपक्ष बीच वार्ता भईरहेको छ । प्याकेजमा सहमति गरेर मात्र जिल्ला अधिवेशन गर्नेगरी नै आफूहरु जिल्ला फर्कने केन्द्रीय सदस्य रायले दाबी गरे । ‘अहिले दुवै पक्षबाट दुईदुईजना वार्तामा बस्नु भएको छ, यदि आवश्यक परेमा हाँमी पनि बस्न सक्छौं’, उनले भने, ‘अब जसरी पनि सहमति गरेर भोली सम्म सर्लाहीमा नयाँ निर्वाचन अधिकृत आउने छन् र पर्सीबाट अधिवेशन प्रकृया अगाडी बढाईने छ ।
पटक–पटक जिल्ला निर्वाचन अधिकृत खटाउँदा पनि दुई पक्षबीचको विवाद नमिल्दा जिल्ला अधिवेशन अन्तर्गत वडा अधिवेशनकै प्रकृया अगाडी बढन नसकेपछि कांग्रेस केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरुलाई शुक्रबार साँझ काठमाडौं बोलाएको थियो ।
जिल्ला सभापति नागेन्द्रकुमार राय सहित उनी पक्षका केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सचिब उपेन्द्र कुशवाहा लगायत नेताहरु काठमाडौं गएका छन् । त्यस्तै पूर्व सभापति लक्ष्मण राय सहित उनी पक्षका सचिब नविन अधिकारी, नेता विनोद खनाल, संघीय सांसद् डा. अमरेशकुमार सिंह लगायत नेताहरु काठमाडौ गएको बताईएको छ ।
सर्लाही जिल्ला अधिवेशन गराउनका लागि जिल्ला निर्वाचन अधिकृतको रुपमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूरुमा विनोद कार्कीलाई खटाएको थियो । कात्तिक २३ गते सर्लाहीका आएका उनी दुवै पक्षको विवादका कारण निर्वाचन गराउन नसक्ने भन्दै २६ गते राजिनामा दिएर काठमाडौंतर्फ लागेका थिए ।
लगतै केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते अर्का निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाई सर्लाही पठाएको थियो । उनले दुवै पक्षका नेताहरुबीच कात्तिक २९ गते निर्वाचन कार्यतालिका सहित ६ बुँदे सहमति गराएपनि पछि मतदान अधिकृत खटाउने विषयमा पुनः विवाद भएको थियो ।
मंसिर २ गते वडा अधिवेशन गराउने सहमति अनुसार मतदान अधिकृत खटाउने विषयमा विवाद हुँदा पूर्व सभापति लक्ष्मण राय पक्षका नेता कार्यकर्ताले निर्वाचन अधिकृत पाण्डेलाई जिल्ला पार्टी कार्यालयमै कुटपिट गरेका थिए । सहमतिको कुनै सम्भावना नदेखेपछि निर्वाचन अधिकृत पाण्डेले समेत राजिनामा दिएका छन् । पाण्डेले समेत राजिनामा दिएपछि विवाद समाधानका लागि केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएको हो ।
जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्षका हुन् भने पूर्व सभापति लक्ष्मण राय संस्थापन ईतरका हुन् । यसपटकको जिल्ला अधिवेशनमा पनि यी दुवैजना जिल्ला सभापतिको उम्मेद्वार हुन् । अब पनि सहमति हुन नसके सर्लाहीमा जिल्ला अधिवेशन नै नहुने तथा सर्लाहीका कांग्रेसीहरुले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन् ।