logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीका कांग्रेसी काठमाडौं गए


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीका दुवै पक्षका नेताहरु काठमाडौं गएका छन् ।

जिल्ला सभापति नागेन्द्रकुमार राय र पूर्व सभापति लक्ष्मण राय दुवै पक्षका नेताहरु शुक्रबार राती नै काठमाडौंं गएका हुन् । केही नेताहरु भने आज (शनिबार) बिहानै काठमाडौं लागेका छन् ।

पटक–पटक जिल्ला निर्वाचन अधिकृत खटाउँदा पनि दुई पक्षबीचको विवाद नमिल्दा जिल्ला अधिवेशन अन्तर्गत वडा अधिवेशनकै प्रकृया अगाडी बढन नसकेपछि कांग्रेस केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएको हो । अधिवेशनबारे देखिएको विवाद समाधानका लागि केन्द्रीय कार्यालयले बोलाएकाले आफूहरु काठमाडौं आएको जिल्ला सचिब नविन अधिकारीले जानकारी दिए । त्यस्तै अर्का जिल्ला सचिब एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले पनि आफूहरु काठमाडौं आएको उज्यालो अभियानलाई जानकारी दिए ।

जिल्ला सभापति नागेन्द्रकुमार राय सहित उनी पक्षका केन्द्रीय सदस्य जंगिलाल राय, वैकल्पिक केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, सचिब उपेन्द्र कुशवाहा लगायत नेताहरु काठमाडौं गएका छन् । त्यस्तै पूर्व सभापति लक्ष्मण राय सहित उनी पक्षका सचिब नविन अधिकारी, संघीय सांसद् डा. अमरेशकुमार सिंह लगायत नेताहरु काठमाडौ गएको बताईएको छ ।

सर्लाही जिल्ला अधिवेशन गराउनका लागि जिल्ला निर्वाचन अधिकृतको रुपमा कांग्रेस केन्द्रीय निर्वाचन समितिले सूरुमा विनोद कार्कीलाई खटाएको थियो । कात्तिक २३ गते सर्लाहीका आएका उनी दुवै पक्षको विवादका कारण निर्वाचन गराउन नसक्ने भन्दै २६ गते राजिनामा दिएर काठमाडौंतर्फ लागेका थिए ।

लगतै केन्द्रीय निर्वाचन समितिले कात्तिक २७ गते अर्का निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाई सर्लाही पठाएको थियो । उनले दुवै पक्षका नेताहरुबीच कात्तिक २९ गते निर्वाचन कार्यतालिका सहित ६ बुँदे सहमति गराएपनि पछि मतदान अधिकृत खटाउने विषयमा पुनः विवाद भएको थियो ।

मंसिर २ गते वडा अधिवेशन गराउने सहमति अनुसार मतदान अधिकृत खटाउने विषयमा विवाद हुँदा पूर्व सभापति लक्ष्मण राय पक्षका नेता कार्यकर्ताले निर्वाचन अधिकृत पाण्डेलाई जिल्ला पार्टी कार्यालयमै कुटपिट गरेका थिए । सहमतिको कुनै सम्भावना नदेखेपछि निर्वाचन अधिकृत पाण्डेले समेत राजिनामा दिएका छन् । पाण्डेले समेत राजिनामा दिएपछि विवाद समाधानका लागि केन्द्रीय कार्यालयले दुवै पक्षका नेताहरुलाई काठमाडौं बोलाएको हो ।

जिल्ला सभापति नागेन्द्रकुमार राय संस्थापन पक्षका हुन् भने पूर्व सभापति लक्ष्मण राय संस्थापन ईतरका हुन् । यसपटकको जिल्ला अधिवेशनमा पनि यी दुवैजना जिल्ला सभापतिको उम्मेद्वार हुन् । अब पनि सहमति हुन नसके सर्लाहीमा जिल्ला अधिवेशन नै नहुने तथा सर्लाहीका कांग्रेसीहरुले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन् ।