logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीको वडा अधिवेशन : मतदान अधिकृत खटाउन सहमतीको प्रयास हुँदै


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा नेपाली कांग्रेसको भोलीका लागि वडा अधिवेशन तय भएपनि अहिले साँझसम्ममा मतदान अधिकृत नै खटाइएको छैन् ।

वडा अधिवेशन गराउन शिक्षकहरुलाई मतदान अधिकृतको रुपमा छनौट गरिएपनि क–कस्लाई कहाँ–कहाँ खटाउने भन्ने विषयमा कुरा मिल्न नसकेको हो । जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहबीच सहमतीमै मतदान अधिकृत छानिएपनि खटाउने विषयमा भने सहमती जुट्न नसकेको हो । यसका लागि अहिले पनि मलंगवामा जिल्ला निर्वाचन अधिकृत दीवाकर राज पाण्डेको रोहबरमा दुवै पक्षबीच सहमतीको प्रयास भइरहेको छ ।

मतदान अधिकृत छानेर अधिवेशनबारे अभिमुखीकरण प्रदान गर्न नभ्याए सर्लाहीमा भोली पनि कांग्रेसको वडा अधिवेशन हुने छैन् । अहिले साँझसम्म पनि भोलीको वडा अधिवेशनबारे अन्यौलता नै छ । लामो विवादपछि कात्तिक २९ गते सदरमुकाम मलंगवामा निर्वाचन अधिकृत पाण्डेकै अध्यक्षतामा भएको दुवै पक्षको बैठकले मंसिर २ गते भोली वडा अधिवेशन गर्ने र त्यसपछि क्रमैसँगै पालिका, प्रदेश, संघीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो ।

दुई पक्षको विवादका कारण अधिवेशन गराउन नसकेर यसअघि केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्की राजिनामा बुझाएर गएका थिए । सर्लाहीमा अधिवेशनसम्म आउँदा दुई गुटबीचका नेताहरुबीच सम्वन्ध असाध्य चिँडिएको छ ।