logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

विप्लव समूहको बन्द खुल्यो, दिनभर गाडी नचल्दा सर्वसाधारणलाई सास्ती


  • उज्यालो अभियान

लालबन्दी बजार ।

लालबन्दी – नेत्रविक्रम चन्द (विप्लव) समूहले मंगलवार आब्हान गरेको नेपाल बन्द साँझ अबेरबाट खुलेको छ ।

साँझ ५ बजे पछिबाट बन्द खुलेको हो । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै विप्लव समूहले मंगलवार एक दिनका लागि नेपाल बन्दको आब्हान गरेको थियो । बन्दको प्रभाव सर्लाहीसहित देशैभर प¥र्यो ।

बन्दले गर्दा मंगलवार दिनभर सर्लाहीमा भाडाका गाडी चलेनन् । पूर्व–पश्चिम राजमार्ग (हाईवे) र भित्री सडकहरुमा मोटरसाइकल, अन्य निजी कार, जीपहरु, अटो र मालबाहक सवारी साधन बाहेक म्याजिक, माइक्रो, बस जस्ता भाडाका गाडी चलेनन् । जसले गर्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्ने यात्रु र अस्पताल जानुपर्ने बिरामीहरु मारमा परे ।

लालबन्दी, नवलपुर, हरिवन लगायतका बजारमा अटो संचालन हुँदा यात्रुहरुलाई केही राहत मिलेको थियो । मंगलवार साँझबाट काठमाण्डौं जाने रात्री बसहरु संचालन भएका लालबन्दीका एक यातायात व्यवसायीले उज्यालो अभियानसँग बताए ।

यस क्षेत्रमा मंगलवार विद्यालयहरु खुलेनन् । बिहान विद्यालय पुगेका विद्यार्थीहरु पनि पढाई नभएपछि घर फर्किएका थिए ।

बजारहरु दिनभर नै खुले । बन्दमा विप्लव समूहका कार्यकर्ताहरुले कहीँकतै अप्रिय घटना घटाउन नपाउन भनेर पूर्व–पश्चिम राजमार्गका ठाउँ–ठाउँमै मंगलवार दिनभर प्रहरी परिचालन गरिएको थियो ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले जिल्लामा बन्द सफलतापूर्वक सम्पन्न भएको प्रेस विज्ञप्ती निकालेर उल्लेख गरेको छ । उसले आम नागरिकको डाढ सेक्ने गरी भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध गरिएको नेपाल बन्दको कार्यक्रममा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।

गएको बिहिवारदेखि चरणवद्ध आन्दोलन गरिरहेको विप्लव समूहले मंगलवार छैठौँ दिन नेपाल बन्द गराएको हो । उसले अबको थप आन्दोलनको कार्यक्रम भने सार्वजनिक गरिसकेको छैन् ।

नेपाल आयल निगमले अघिल्लो हप्ताको वुधवार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको थियो । अहिले पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

बन्दले मंगलवार बिहान सुनसान देखिएको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्ग । (तस्बीर : उज्यालो अभियान)