मलंगवा – सर्लाहीमा शनिवार (भोली) का लागि तय भएको नेपाली काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको छ ।
केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत विनोद कार्की सुक्रवार बिहान राजिनामा दिएर काठमाण्डौं फर्किएपछि जिल्लामा काँग्रेसको वडा अधिवेशन अनिश्चित बनेको हो । जिल्ला सभापति नागेन्द्र कुमार राय र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय समूहको दबाब खेप्न नसकेर निर्वाचन अधिकृत कार्कीले राजिनामा दिएको स्रोतले जनाएको छ ।
जिल्ला सभापति नागेन्द्र कुमार राय पार्टीका केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । आगामी निर्वाचनमा उनीहरु नै जिल्ला सभापतिको दाबेदार देखिन्छन् भने पालिका तथा वडा स्तरमा पनि उनीहरुकै दुई समूहबीच प्रतिस्पर्धा हुने देखिन्छ ।
सर्लाहीमा काँग्रेसभित्र क्रियाशील सदस्यता वितरणदेखि नै दुई समूहबीच चर्को विवाद देखिँदै आएको छ । अधिवेशनको सङ्घारमा आएर दुई पक्षबीचको विवाद झनै बढेको हो ।
दुवै समूहले एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै आइरहेका छन् । पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले निर्वाचन अधिकृतलाई कामै गर्न नदिएको आरोप लगाएका छन् ।
निर्वाचन अधिकृतले जिल्ला सभापतिको दबाब खेप्न नसकेर राजिनामा बुझाएको रायको भनाई छ । “सभापतिले उहाँ (निर्वाचन अधिकृत) लाई कामै गर्न दिनुभएन्, मैले भनेको गर, नत्र जा भन्नुभएछ, त्यसैले उहाँ राजिनामा दिएर फर्किनुभयो,” पूर्व जिल्ला सभापति रायले भने “नागेन्द्र जीको बोली एउटा र व्यवहार अर्कै छ, सिस्टममा जान खोज्नुहुन्न, राजा जसरी प्रस्तुत भइरहनु भएको छ ।”
जिल्ला सभापति नागेन्द्र कुमार रायले भने पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षले निर्वाचन अधिकृतलाई काम गर्न नदिएर राजिनामा दिन बाध्य पारेको बताए । पूर्व जिल्ला सभापति राय पक्षले निर्वाचन अधिकृतको सचिवालयमा आफू निकट शिक्षकहरु राखेर काम गर्न निर्वाचन अधिकृतलाई दबाब दिएको जिल्ला सभापति रायको आरोप छ ।
आफूले पार्टीको शुभेच्छुक संस्था प्राध्यापक सङ्घ, कानुन व्यवसायी, पत्रकार लगायतलाई निर्वाचन अधिकृतको सचिवालय र निर्वाचन अधिकृतको रुपमा खटाएर निष्पक्ष निर्वाचन गराउन खोज्दा पनि पूर्व पार्टी सभापति राय पक्षले त्यसलाई अस्वीकार गरेको जिल्ला सभापति रायको भनाई छ । “अघिल्लो अधिवेशनमा लक्ष्मण जी सभापति हुँदा हरिपुरमा कार्यालय राख्ने अनि सुताउने खुवाउने कहिले जनकपुरमा, कहिले मलंगवा त कहिले लालबन्दीतिर लाने भयो, मेले कहीँ पनि खोजतलास गरिन, चुनावसँग मतलब राखे, तर अहिले लक्ष्मण जीले सबैमा भाग खोज्नु भएको छ,” जिल्ला सभापति रायले भने, “उहाँले जे–जे भन्नुहुन्छ, निर्वाचन अधिकृतले त्यही गर्न सम्भव छ र ? सभापति म छु, निष्पक्ष निर्वाचन त मैले गराउने होनी ।’
निर्वाचन अधिकृत कार्कीले भने दुई पक्षको दबाब थेग्न नसकेर आफूले राजिनामा दिएको बताए । राजिनामा दिएर काठमाण्डौं फर्किएका कार्कीले नवलपुरमा संचारकर्मीहरुसँग कुरा गर्दै एक पक्षले एकथरी र अर्को पक्षले अर्कैथरी कुरा गर्दा निर्वाचन गराउन गाह्रो परेकाले राजिनामा दिएको बताए ।