logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आईजीपी सर्लाही आउँदै


  • उज्यालो अभियान

मलंगवा – नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै केन्द्रीय प्रमुख सोमवार सर्लाही आउँदै छन् ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आइतवार नै जनकपुर आएका नेपाल प्रहरीका प्रमुख एवं प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल निरीक्षण तथा संगठनलाई निर्देशन प्रदान गर्न सर्लाही आउन लागेका हुन् । नेपाल प्रहरीका आईजिपी क्षेत्री जिल्ला प्रहरी कार्यालय मलंगवा र सशस्त्र प्रहरीका आईजीपी खनाल कविलासीको अगर्वास्थित सशस्त्र प्रहरीको जिल्ला कार्यालय रहेको नं. १० गणमा आउने बुझिएको छ ।

उनीहरु केहीबेर यहाँ बसेर जनकपुर फर्किहाल्ने कार्यक्रम रहेको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा सोमवार जनकपुरमा प्रदेश २ स्तरीय सुरक्षा गोष्ठी हुँदैछ ।

गोष्ठीमा सर्लाहीसहित प्रदेश २ का आठै जिल्लाबाट प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरु सहभागी हुनेछन् । यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीको भवन शिलान्यास कार्यक्रम केही सातापछि हुने भएको छ ।

गृहमन्त्री खाँड जनकपुर आउँदा जिल्ला प्रशासन कार्यालयको भवन उनकैै हातबाट शिलान्यास गराउने तयारी थियो । प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले भवन बन्ने ठाउँमा अझै पनि पानी जमिरहेकाले भवन शिलान्यास कार्यक्रम पछिलाई सारिएको बताए ।

कात्तिक पहिलो सातानै भवन शिलान्यास गर्ने अन्तिम तयारी गरिएपनि बेमौसमी वर्षाका कारण कार्यक्रम स्थगित गर्नुभएको थियो ।