logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चोरी भएको मोटरसाइकल दुई घण्टामै चोरसहित प्रहरीको नियन्त्रणमा


  • उज्यालो अभियान

मलंगवा – सर्लाही प्रहरीले सदरमुकाम मलंगवाबाट चोरी भएको एउटा मोटरसाइकल २ घण्टाभित्रै चोरसहित नियन्त्रणमा लिन सफल भएको छ ।

शनिवार राती पौने ८ बजेतिर जिल्ला अस्पताल मलंगवा परिसरबाट रातो कलरको प्यासन प्रो मोटरसाइकल हराएको थियो । मोटरसाइकल हराएको सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटलाई जानकारी गराई खोजी गर्नेक्रममा दुई घण्टापछि मलंगवाकै विश्वकर्मा चौकबाट हराएको मोटरसाइकल फेला परेको हो ।

विश्वकर्मा चौकमा खटिएका प्रहरीले रोक्न खोज्दा प्रहरीलाई नै ठक्कर दिएर फरार भएको मोटरसाइकल चालकलाई ५ सय मिटर सम्म लखेटेर नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । त्यसक्रममा एक जना प्रहरी जवान सामान्य घाईते समेत भएका छन् ।

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न मलंगवा नगरपालिका–३, बस्ने मोजाहिर अन्सारीका छोरा १९ वर्षीय बोसिम अन्सारीलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ । सर्लाहीमा यसरी पटक–पटक मोटरसाइकल चोरीका घटना भइरहेका छन् ।