logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

राती साँढे १० बजे सरकारी मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

धनकौल – सर्लाहीको धनकौल गाउँपालिका वडा नं. १ सेखौनामा भएको मोटरसाइकल दुर्घटनामा चालकको ज्यान गएको छ ।

सोमवार (अस्ती) राती साँढे १० बजेतिर सर्लाहीको मधुवनीबाट बरहथवातर्फ आउँदै गरेको प्रदेश २–०२–००१ ब ५४४ नम्वरको सरकारी मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रामनगर गाउँपालिका–३, बहुअर्वा बस्ने ४० वर्षीय मुन्ना पाण्डेको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाईते भएका पाण्डेलाई उपचारका लागि भेनस अस्पताल बरहथवामा लगिएपनि डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनामा परेको सरकारी नम्वर प्लेटको मोटरसाइकल कुन कार्यालयको हो ? भन्ने खुल्न बाँकी रहेको र यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक पाण्डेको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टमपछि मंगलवार दिउँसो रामनगरस्थित बागमती नदीको खैर्बा घाटमा अन्त्येष्टि गरिएको छ ।

नेपाली काँग्रेसका स्थानीय नेता समेत रहेका पाण्डेको पार्थिब शरीरमा नेपाली काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार राय, उपसभापति सुरेन्द्र सिंह, प्रदेश २ सरकारका महिला, बालबालिका, तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहालगायतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरेका छन् । यसैबीच, रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका सर्लाही घर भएका एक प्रहरी जवानको मंगलवार दिउँसो गाउँमा ल्याएर अन्त्येष्टि गरिएको छ ।

रौतहटको गढीमाई नगरपालिकाको धरमपुरस्थित वागमती नदीको पुलमा सोमवार (अस्ती) राती ज ७ प ३१४२ नम्बरको मोटरसाईकल चढेर जाँदै गरेका सर्लाहीको धनकौल गाउँपालिका–७ वैरियाका ३३ बर्षिय प्रहरी जवान रामनिवास यादवको मृत्यु भएको थियो । उनी रौतहटको दुर्गा भगवती गाउपालिकास्थित बडहर्वा प्रहरी चौकीमा कार्यरत थिए ।

यादवको शव मंगलवार दिउँसो गाउँ ल्याई सिसौटस्थित छठी घाटमा अन्त्येष्टि गरिएको हो । दिवंगत प्रहरी जवान यादवको अन्त्येष्टिमा प्रहरीले शोक सलामी अर्पण गरेको छ ।