logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

जसपाका नेताहरुलाई प्रचण्डको प्रस्ताव : आउनुस् पार्टी एकता गरौँ


  • उज्यालो अभियान

मलंगवा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल (जसपा) सँग एकताको प्रस्ताव गरेका छन् ।

शनिबार दिउँसो सर्लाही सदरमुकाम मलंगवामा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन र मधेसवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनबीचको एकता घोषणा समारोहलाई सम्वोधन गर्दै उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवलाई सम्बोधन गर्दै उनले भने, ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौं, ढुक्कै । क्षेत्रीय पार्टी बनाएर किन बस्ने ?’

जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई राम्रोसँग चिन्ने भन्दै प्रचण्डले भने, ‘गठबन्धन त हामीले गरेकै छौं । अब पार्टी एकता गरौं । ढिलो नगरौं, तपाईंहरुलाई चाहिने अधिकार र सम्मान हामी दिन्छौं ।’

प्रचण्डले पार्टी एकताको छिटो निर्णय गरेर जनकपुरमा घोषणा गर्नुपर्ने पनि बताए । ‘नडराई पार्टी एउटै बनाऔं, सिद्धियो, म जनकपुरमा आउँछु । जनकपुरमा घोषणा गरौं’ उनले भने ।
प्रचण्डले अघि भने, ‘एकता मन परेन भने भन्यो भने तपाईहरुमा पनि केही पल्क्यो भन्ने बुझे हुन्छ, भीरबाट हामफाल्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन । अब मधेस माओवादीमय हुनेछ ।’

मधेस माओवादीमय नहुँदासम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त नहुने र विकास पनि नहुने प्रचण्डले दावी गरे । प्रचण्डले आफूलाई मधेसको मसिहा भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो मधेसविरोधी केपी शर्मा ओली नेतृत्वमा सहभागी भएको टिप्पणी गरे ।

‘को मधेसको मित्र हो, को मधेसको दुश्मन हो ?’ उनले प्रश्न गरे, ‘महन्थ ठाकुरहरु मधेसी हुन् ?’ । प्रचण्डले प्रधानमन्त्री बेलायतबाट फर्किने वित्तिकै नागरिकता ऐन पारित हुने दावी गरेका छन् ।
उनले यो गठबन्धन सरकारले नै मधेसी जनताको नागरिकताको समस्या हल गर्छ भन्ने प्रमाणित गर्ने बताए । ‘सबै प्राविधिक कुरा म अहिले भन्दिन । प्रधानमन्त्री फर्केर आएपछि नागरिकता ऐन पारित गरिनेछ’ उनले भने, ‘यो गठबन्धनले नै मधेसी जनताको नागरिकताको समस्या हल ग¥यो भन्ने प्रमाणित गरिनेछ ।’

हाल प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा छन् । उनी कात्तिक १८ गते स्वदेश फर्किदैछन् । नागरिकता ऐन पारित हुन नसक्दा संविधान अनुसार जन्मका आधारमा नागरिकता लिएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन सकेका छैनन् । यो समस्या मधेसमा धेरै छ ।
आफूहरुले केपी शर्मा ओली नेतृत्वको सरकारकै बेलामा नागरिकता ऐन पारित गर्न खोजे पनि सम्भव नभएको प्रचण्डले बताए । लोकतान्त्रिक शिक्षक फेडेरेसनका राष्ट्रिय अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका प्रदेश २ इन्चार्ज गणेश साह, प्रदेश सह–इन्चार्ज विश्वनाथ साह र महेन्द्र पासवान लगायत सहभागी भएका माओवादी केन्द्रका जिल्ला सचिव कमल बुढाथोकीले जानकारी दिए ।

मलंगवाको कार्यक्रम सकेर फर्किने क्रममा प्रचण्डले शनिवार साँझ अबेर हरिपुर नगरपालिकाको लक्ष्मीपुर कोद्राहमा केहीबेर मिटरब्याजी पीडितहरुसँग भेट गरेका छन् ।