बरहथवा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गुरुराज घिमिरेले निर्वाचन गराएपछि मात्रै पार्टीको महाधिवेशन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन् ।
वुधवार बिहान सर्लाहीको बरहथवामा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता घिमिरेले १४ औँ महाधिवेशनबाट पार्टीलाई धारिलो बनाई निर्वाचनमा जानुपर्ने बताएका हुन् । महाधिवेशनको जित, हारले निर्वाचनमा असर पर्ने र काँग्रेस झनै पराजित हुने परम्परागत सोचाइँ नराख्न उनले आग्रह गरे ।
पार्टीको महाधिवेशनमा पराजित हुनेलाई उचित व्यवस्थापन गर्दै अर्को अवसर प्रदान गरेको खण्डमा कसैले पनि प्रतिसोध नसाध्ने नेता घिमिरेको भनाई छ । केन्द्र्रीय सदस्य घिमिरेले आफूहरुले पार्टीको नेतृत्व फेर्न चाहेको बताए ।
पत्रकार सम्मेलनमा पार्टीका अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले महाधिवेशनले पार्टीलाई गुटमुक्त गर्दै एकतावद्ध बनाउने विश्वास व्यक्त गरे । बारम्बार एउटै पदमा बस्ने नेताहरुले अब युवाहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । पत्रकार सम्मेलनमा पार्टीका पूर्व जिल्ला उपसभापति विनोद खनालसहित अन्य नेताहरु समेत सहभागी भएका थिए ।
पार्टीका केन्द्रीय सदस्य द्वोय घिमिरे र पाण्डेले पत्रकार सम्मेलनअघि वुधवार नै बरहथवास्थित काँग्रेस नेता सत्यनारायण यादवको निवासमा पार्टीका कार्यकर्ताहरुलाई सम्वोधन समेत गरेका थिए । उनीहरु मंगलवार पार्टीले हरिपुर नगरपालिका–१, जानकीनगरमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्न सर्लाही आएका हुन् ।