
हरिवन – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्लाहीको सागरनाथ जंगल क्षेत्र अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान नभएको दाबी गरेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित द्वन्द्वपीडित बालगृहमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ नै उपयुक्त स्थान भएको जिकिर गरे । सोमबार सत्तधारी गठबन्धन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अन्तर्राष्ट्रिय विमानस्थल निजगढमा नभई सर्लाहीको सागरनाथ जंगल क्षेत्रमा बनाउनुपर्ने बताएको प्रसंग उल्लेख गर्दै पत्रकारले सोधेको प्रश्नमा समाजवादी अध्यक्ष नेपालले अध्ययनको कमी हुनेहरुले त्यस्तो तर्क गर्ने भन्दै व्यंग्य गरे । ‘उहाँले अध्ययन गर्नु भएकै छैन, मैले त पूरै अध्ययन गरेको छु, म प्रधानमन्त्री भएकै बेला र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक भएर पनि मैले पटक पटक निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा अध्ययन गरेको छु’, नेपालले भने, ‘मैले हेलिकप्टर लिएर सागरनाथ जंगल क्षेत्रको समेत निरीक्षण गरेको थिएँ, तर निजगढको जंगलजति सागरनाथ जंगल क्षेत्र उपयुक्त देखिएन ।’ सबै रुखहरु कटान भएर खाली भएको सागरनाथ जंगल क्षेत्र नरोझेर विमानस्थलका लागि निजगढमा घना जंगल फँडानी गर्नु उपयुक्त हो र ? भन्ने प्रश्नमा नेपालले दाबी गरे, ‘अन्तराष्ट्रिय विमानस्थल जहिलेपनि राजधानीबाट बढीमा १ घण्टाको दुरीमा हुनुपर्दछ, दुरी बढेमा त्यो एयरपोर्ट चल्दैन, कामचलाउ मात्रै बन्छ ।’
नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गफाडी प्रधानमन्त्री नम्बर एकको रुपमा गिनिज बुकमा नाम लेखाउनु पर्ने भन्दै नेता नेपालले व्यंग्य गरे । ‘उहाँ प्रधानमन्त्री हुँदा गफ बाहेक विकासका अरु केही काम गरेकै छैन, काम भन्दा कुरा बढी, एकैपटक देशभरका पालिकाहरुमा अस्पताल शिलान्यास गर्नुभयो अनि अहिले एकै पटक देशभरका वडा र पालिकाहरुमा पार्टी अधिवेशन रे’, नेपालले व्यंग्य गरे, ‘गफ बाहेक विकासका केही काम नै गरेको छैन, तैपनि उहाँकै ठूला कुरा छन् ।’
आफूहरुले संविधान र संसदको रक्षा गरेको नेता नेपालको दाबी थियो । तत्कालिन प्रधानमन्त्री ओलीले दुई पटकसम्म संविधान र संसदको हत्या गर्ने प्रयत्न गरेपनि त्यसलाई आफूहरुले विफल पारेरे मुलुकलाई संकटबाट जोगाएको अध्यक्ष नेपालको भनाई थियो । नेता नेपालले नेकपा एकीकृत समाजवादीमा पुराना कम्युनिष्ट कार्यकर्तादेखि नयाँ युवासम्म समावेश भएकाले पार्टीप्रति जनलहर चलेको दाबी गरे ।
‘सुदुर पश्चिम प्रदेशको प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी भएको छ, प्रदेश दुईको प्रदेश सभामा केपि ओलीको एमाले भन्दा ठूलो पार्टी भएको छ, प्रदेश १ र बागमती प्रदेशमा हाम्रै पार्टीको मुख्यमन्त्री बन्न गइरहेको छ’, नेता नेपालले भने, ‘अबको दिनमा भविष्य भएको एकमात्र पार्टी नेकपा एकीकृत समाजवादी नै हो भन्ने कुरा कसैबाट लुकेको छैन ।’
सातै प्रदेशमा पार्टी संगठन निर्माणको काम तिब्र रुपमा भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट क्रान्तिको नेतृत्व गर्ने पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी स्थापित हुने दाबी गरे । देशको ७४ जिल्लामा पार्टीको जिल्ला समिति गठन भइसकेको र बाँकी तीन वटा जिल्लामा पनि नेतृत्वले आकार लिएपनि घोषणा हुनमात्र बाँकी रहेको नेता नेपालको भनाइ छ ।
संघ, प्रदेश र स्थानीय तहको चुनावमा वर्तमान सत्ताधारी गठबन्धन बीच तालमेल हुने समाजवादी अध्यक्ष नेपालले ठोकुवा गरे । ‘संघ, प्रदेश र स्थानीय तहको चुनावमा यही गठबन्धनबीच नै तालमेल हुन्छ’ नेता नेपालको दाबी थियो । ओली नेतृत्वको नेकपा एमालेसँग पुनः एकता वा चुनावी तालमेलको कल्पनै गर्न नसकिने नेपालले बताए ।
मंगलबार बिहान १० बजे बागमती हुँदै सर्लाही आएका अध्यक्ष नेपाल हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुरको छोराको बिबाहमा सरिक हुन सोझै हरिपुर गएका थिए । त्यहाँबाट फर्केका उनले हरिवन नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवनको उद्घाटन गरे । साँझ द्वन्द्वपीडित बालगृहमा पत्रकार सम्मेलन पश्चात कार्यकर्ताहरुसँग भेटघाट गरिरहेका छन् ।
अध्यक्ष नेपालसँगै पार्टीका नेताहरु शत्रुधन महतो, लक्ष्मण पौडेल, बेची लुंगेली, सुरेन्द्र लामा लगायतका नेताहरुले समेत कार्यक्रममा सम्बोधन गरेका थिए । वडा कार्यालय उद्घाटन समारोह हरिवन नगरपालिका ५ नम्बर वडाध्यक्ष नागेन्द्र साहको अध्यक्षतामा भएको थियो ।
साँझ सिताप्यालेस होटलमा बास बस्ने अध्यक्ष नेपालले बुधबार बिहान ११ बजे लालवन्दी नगरपालिका वडा नंं. ५ मा प्रदेश सभा सदस्य वेची लुंगेलीको संसदीय विकास कोषवाट वनेको महिला संरक्षण गृहको उद्घाटन गर्ने छन् भने दिउँसो लालवन्दी नगरपालिकाको वडा नंं. नम्वर १५ र १६ मा पर्ने वोहरेडाडाको कार्यक्रममा सरिक हुनेछन् । परवानीपुरको वोहोरे डाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिक अनावरण, प्रदेश स्तरीय पुष्पलाल पार्कको उद्घाटन र नेकपा एकीकृत समाजवादीको सर्लाही जिल्ला कमिटी घोषणा गर्ने कार्यक्रम छ ।