logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कृषिमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका यादवलाई भव्य स्वागत


  • उज्यालो अभियान

मलंगवा – वर्तमान सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएपछि वुधवार पहिलो पटक गृह जिल्ला सर्लाही आएका जनता समाजवादी पार्टीका नेता महिन्द्र राय यादवलाई कार्यकर्ताले ठाउँ–ठाउँमा स्वागत गरेका छन् ।

काठमाण्डौंबाट गाडीमै गृह जिल्ला आएका कृषि मन्त्री यादवलाई कार्यकर्ताहरुले वुधवार मध्यान्ह पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरमा स्वागत गरे । मन्त्री यादवको स्वागतका लागि ठूलो संख्यामा नेता कार्यकर्ताहरु गाडी र मोटरसाइकल लिएर नवलपुर चौकमा आइपुगेका थिए ।

सर्लाहीको २ नं. निर्वाचन क्षेत्रका संघीय सांसद समेत रहेका मन्त्री यादव कात्तिक १ गतेसम्म जिल्लाकै विभिन्न कार्यक्रममा ब्यस्त रहने जनता समाजवादी पार्टी नेपाल सर्लाहीका अध्यक्ष वीरेन्द्र रायले उज्यालो अभियानलाई जानकारी दिए । मन्त्री यादवले वुधवार पहिलो दिन राती अबेरसम्म कविलासी, सलेमपुर, गम्हरिया र मलंगवामा पार्टीका नेता कार्यकर्तासँग भेट गरी स्वागत तथा सम्मान ग्रहण गरे ।

मन्त्री यादवसँगै सर्लाही नै घरभएका प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय, प्रदेश सभा सदस्य सन्जय यादव, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, जसपाबाट निर्वाचित पालिका प्रमुखसहितका जनप्रतिनिधिहरु र अन्य नेताहरु पनि मन्त्री यादवको स्वागत कार्यक्रममासँगै रहेका छन् ।

सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकाको बसन्तपुर गाउँमा घर रहेका मन्त्री यादवले ५ दिन जिल्लामा रहँदा ४ वटै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रमहरुलाई सम्वोधन गर्ने जसपाका नेता एवं कविलासी नगरपालिकाका मेयर कौशल किशोर यादवले बताए ।