हरिवन – नेकपा एकीकृत समाजवादी पार्टी सर्लाही जिल्ला कमिटीको पदाधिकारी केन्द्रीय समितीले घोषणा गर्ने भएको छ ।
नेकपा एमालेमा हुँदा माधव नेपाल–झलनाथ खनाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नै समाजवादी पार्टीले तदर्थ कमिटीको रुपमा अगाडी बढाउने भनिएपनि सर्लाही जिल्ला कमिटीको पदाधिकारी घोषणामा भने विवाद देखिएको छ । पदाधिकारी सहित जिल्ला कमिटी घोषणा गर्ने तयारीका साथ गत आईतबार हरिवन स्थित सम्राट पार्टी प्यालेसमा जिल्ला स्तरीय कार्यकर्ता भेला आयोजना गरिएको थियो । तर जिल्ला कमिटीको सचिबमा विवाद देखिएपछि अध्यक्ष सहित कुनैपनि पदाधिकारीको नाम नै घोषणा गरिएन ।
नेकपा एकीकृत समाजवादीको जिल्ला भेला सम्पन्न, सचिबको विवादले पदाधिकारी चयन हुन सकेन
भेलाका प्रमुख अतिथि प्रदेश दुई अध्यक्ष रामचन्द्र रायले सम्बोधन गर्ने क्रममा नेकपा एमालेमा हुँदा बनाईएको ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटी नै समाजवादीको जिल्ला कमिटी कायम भएको घोषणा गरेका थिए । एक नेताका अनुसार समाजवादीको जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिब र सहसचिबको नाम घोषणा हुनुपर्ने हो । जिल्ला भेलामा स्थानीय नेताहरुले सम्बोधन गरिरहेको समय प्रदेश अध्यक्ष राय, सचिब लक्ष्मण पौडेल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, प्रदेश सांसद् रविन्द्र बैठा लगायत नेताहरु सम्राट होटलको एक कोठामा बसेर पदाधिकारीको नाममा सहमतिको प्रयास गरेपनि सचिबको नाममा नेताहरु एक हुन नसकेको एक नेताले जानकारी दिए ।
पार्टीले अबलम्बन गरेको नीति अनुसार अध्यक्ष रेवती पन्त एमालेमै बसेका कारण समाजवादीको जिल्ला अध्यक्ष मात्र चयन गर्नुपर्ने अवस्था छ । एमालेमा पछिल्लो निर्वाचित उपाध्यक्ष देवेन्द्र राय, सचिब बेची लुंगेली र सहसचिव जमरुद्धिन मन्सुर समाजवादीमै आएपछि उनीहरु स्वतः समाजवादी पार्टी जिल्ला कमिटीको सोही पदमा हुने भएपनि सचिब पदमा भने विवाद देखिएको एक नेताले जानकारी दिए ।
सचिबमा लालबन्दीका गोविन्द अधिकारीले समेत चाहना राखेपछि प्रदेश नेतृत्वमा पदाधिकारी घोषणा गर्ने सवालमा एकमत हुन नसकेको बताईएको छ । आईतबारको भेलामा प्रदेश कमिटी अध्यक्ष रायले भोली पल्ट (सोमबार) लालगढमा बस्ने प्रदेश पदाधिकारी, प्रदेश भित्रका केन्द्रीय सदस्यहरु तथा प्रदेश सांसदहरुको भेलाले पदाधिकारी घोषणा गर्ने बताएका थिए । तर सोमबार बसेको बैठकले पनि पदाधिकारी घोषणा गर्न सकेन ।
समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सचिब लक्ष्मण पौडेलले असोज ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पदाधिकारी चयन गर्ने जानकारी दिए । ‘धेरैतिरबाट रिपोर्टहरु आईरहेकाले आगामी असोज ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले ७७ वटै जिल्लाका पदाधिकारीहरु चयन गर्ने तयारी भएको छ ।’, पौडेलले उज्यालो अभियानसँग भने । पौडेल स्वयंले पनि गत आईतबार उज्यालो अभियानसँगको कुराकानीमा सोमबार नै जिल्ला कमिटीको पदाधिकारी घोषणा हुने बताएका थिए ।
जिल्ला अध्यक्षमा भने सुरेन्द्र लामाको नाममा सहमति भईसकेको एक नेताले जानकारी दिए ।