logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

स्व. खनालको अन्त्येष्टीमा मानवसागर, कांग्रेसको झण्डा ओढाईयो


  • उज्यालो अभियान

बागमती नदी किनारमा दाहसंस्कार गर्न तयार पारिएको चित्तामा राख्नका लागि स्व. खनालको शव बोकेर परिक्रमा गर्दैै सहोदर दाजु कांग्रेस नेता विनोद खनाल सहितका आफन्तहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सामाजिक अभियन्ता स्व. सरोज खनालको अन्त्येष्टी गरिएको छ । शुक्रबार मध्यान्ह बागमती नदी किनारमा हिन्दु परम्परा अनुसार स्व. खनालको अन्त्येष्टी गरिएको हो । मुसलधारे वर्षाका बाबजुद खनालको अन्त्येष्टीमा मानवसागर ओर्लिएको थियो ।

स्व. खनालको अन्तिम दाहसंस्कार गर्ने क्रममा छोरा २२ वर्षीय हिरोसी खनालले दागबती दिएका थिए । दिउँसो १ बजे दाहसंस्कार सम्पन्न भएको स्व. खनालका भाई सबिन खनालले जानकारी दिए ।

त्यसअघि बागमती नदी किनारमै स्व. खनालको शवमा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ सहितका कांग्रेस नेताहरुको टोलीले नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर श्रद्धाञ्जली स्वरुप सम्मान अर्पण गरेको थियो । त्यसअघि आयोजित संक्षिप्त श्रद्धाञ्जली कार्यक्रमलाई कांग्रेस नेता शम्भुलाल श्रेष्ठ, नेकपा एमालेका सर्लाही अध्यक्ष रेवती पन्तले श्रद्धासुमन मन्तव्य अर्पण गरेका थिए । कांग्रेस नेता श्रेष्ठ र एमाले अध्यक्ष पन्तले स्व. खनालको निधनले समाजलाई अतुलनिय क्षति पुगेको भन्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरे । संक्षिप्त श्रद्धाञ्जली कार्यक्रममा अन्य विभिन्न पार्टीका नेता तथा जनप्रतिनिधिहरुलाई समेत श्रद्धाञ्जली मन्तव्य राख्न दिने कार्यक्रम तय भएपनि पानी परेका कारण उक्त कार्यक्रम छोट्याईएको थियो । त्यसअघि स्व. खनालको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

दाहसंस्कार कार्यक्रममा नेकपा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकी सहित माओवादीका अन्य नेताहरु, नेपाली कांग्रेसका नेताहरु रामचन्द्र चौधरी, रामप्रसाद मैनाली, रामवली राय, दिलिपराज भण्डारी, डोरप्रसाद भट्टराई, कौशलकिशोर राय, लगायत अन्य नेताहरु, एमालेका अध्यक्ष रेवती पन्त सहितका नेताहरु, मधेशवादी दल सहित विभिन्न राजनैतिक दलका नेताहरु, महिला नेतृहरु कल्पना कटुवाल, भवानी कोइराला, सोनी बम्जन, सुनिता लामा, रिता मैनाली लगायतको सहभागिता रहेको थियो । त्यस्तै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं, उपमेयर रेणुका पौडेल लगायत विभिन्न पालिकाका प्रमुख एवं जनप्रतिनिधिहरु, शिक्षासेवी, उद्योगी व्यापारी, संचारकर्मी, युवा विद्यार्थी लगायत समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

खनाल विहिबार बिहान धादिङको सदरमुकाम धादिङबेसी स्थित आफ्नै कोठामा मृत्त फेला परेका थिए । बुधबार दिउँसैदेखि कोठामै एक्लै आराम गरेर बसेका उनी विहिबार बिहान ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् । विहिबार साँझ धादिङबेसी स्थित जिल्ला अस्पतालमा पोष्टमार्टम पश्चात शुक्रबार बिहान २ बजे खनालको शव उनैद्वारा सञ्चालित हरिवनको सुखेपोखरीस्थित अनाथाश्रममा ल्याएर राखिएको थियो ।

सरोज खनालको फाईल तस्बिर ।

सर्भिस फर पिस नेपालका महासचिव समेत रहेका खनाल सोही संस्थाले धादिङ जिल्लामा निर्माण गरिरहेको खानेपानी आयोजनाको कामका लागि केही समयदेखि धादिङबेसीमा बस्दै आएका थिए । सर्भिस फर पिस नेपाल मार्फत खनालले हरिवनको सुखेपोखरीमा अनाथाश्रम सञ्चालन, सर्लाहीका दुई दर्जन बढी विद्यालयमा रंगरोगन, पुस्तकालय निर्माण सहित शैक्षिक एवं भौतिक स्तरोन्नतीको काम गरेका थिए भने जिल्ला स्थित विभिन्न स्थानमा घुम्ती पुस्तकालय सञ्चालन गर्दै शिक्षाको ज्योती छर्नमा केन्द्रित रहँदै आएका थिए । त्यस्तै हरिवनको सुखेपोखरी स्थित कलश होटल पछाडी जीम क्लब, ब्याडमिण्टन कोर्ट निर्माण समेत उनैले गरिदिएका थिए । त्यस्तै बरहथवाको डोम बस्तीको भौतिक एवं शैक्षिक र सामाजिक विकास सहित विभिन्न स्थानका मुसहर टोलमा साक्षरता कक्षा, जाडोमा न्यानो कपडा वितरण जस्ता काम समेत गर्ने गरेका थिए । त्यस्तै स्व. खनालकै नेतृत्वमा ‘शिक्षाले राष्ट्रलाई माथि उचाल्छ’ भन्ने अभियानका साथ केही वर्षअघि बरहथवामा बृहद् शैक्षिक महोत्सव समेत भएको थियो । खनालकै अगुवाईमा बरहथवामा सुविधा सम्पन्न पुस्तकालय तथा सभाहल सहितको विश्व शान्ती भवन समेत निर्माण भई सञ्चालनमा आईरहेको छ ।

त्यस्तै चुरे क्षेत्रमा भईरहेको खानेपानी समस्या समाधान गर्नका लागि खनालकै अगुवाईमा एक रुपैंया अभियान सञ्चालन भईरहेको छ । उक्त अभियानमा जिल्ला स्थित विभिन्न विद्यालयका विद्यार्थीले दिनको १ रुर्पैया अर्थात महिनाको ३० रुपैंया दिने गरेका छन् ।

उनको सबैखाले सामाजिक अभियानमा स्वयंसेवी रुपमा सघाउनका लागि अमेरिका, क्यानाडा, दक्षिण कोरिया, मलेशिया, भारत लगायत विभिन्न मुलुकका युवाहरु समेत सहभागि हुँदै आएका छन् । लायन्स क्लब अफ हरिवनका अध्यक्ष समेत रहिसकेका खनालले पटक–पटक देशविदेशका गित संगित सहित सांस्कृतिक एवं खेलकुद कार्यक्रम समेत गर्दै आएका थिए । लामो समयदेखि नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहेपनि स्व. खनाल पार्टी भित्र कुनैपनि खाले पद र अवसर नखोजी विशुद्ध सामाजिक कामहरुमा बढी सकृय रहने गरेका थिए ।

शुक्रबार बिहान स्व. खनालको शव राखिएको अनाथाश्रम परिसरमा उपस्थित सबैको आँखा रसाएको देखिन्थ्यो । अनाथाश्रममा आश्रीत बालबालिकाहरु चिच्याई चिच्याई रोईरहेका थिए । त्यस्तै स्थानीय महिला सहितका बासिन्दाहरु भावविह्वल बनेका थिए । अन्त्येष्टी कार्यक्रममा उपस्थित सबैको मुहाल अत्यन्त मलिन देखिन्थ्यो । स्व. खनालको दाहसंस्कारमा उत्तरी क्षेत्रका मात्र हैन बरहथवा लगायत दक्षिणी क्षेत्रका महिलाहरुको समेत उपस्थिती रहेको थियो । ठूलो पानी पर्दा समेत छाता हुनेले ओढेर तथा नहुने अधिकांशले भिजेरै अन्त्येष्टी कार्यक्रममा सहभागिता जनाएका थिए ।

सर्लाही सहित मुलुकका विभिन्न जिल्लामा समाजसेवाका काम गर्दै आईरहेका खनालको निधनले धादिङ पनि शोकमग्न बनेको छ । विहिबार दिनभर धादिङबेसी स्थित स्व. खनालको शव राखेको जिल्ला अस्पताल परिसरमा धादिङका प्रमुख राजनैतिक दलका नेताहरु, सामाजिक अगूवाहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

विहिबार दिउँसो नै सर्भिस फर पिस नेपालका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धादिङमै आएर श्रद्धाञ्जली अर्पण गरेका थिए । खनालले नेपाली कांग्रेसका संस्थापक मध्येका नेता रामहरि जोशीको अध्यक्षतामा सर्भिस फर पिस नेपाल नामक संस्था गठन गरेका थिए । जोशीको निधन पश्चात हाल उक्त संस्थाको अध्यक्ष शर्मा रहेका छन् ।

बरहथवा नगरपालिका–१६, गंगापुर पुख्र्यौली घर भएका स्व. खनालले केही समयअघिबाट हरिवनको सुखेपोखरीमा सानो घर बनाईरहेका थिए । स्व. खनालकी पत्नी जिन्तु नकर्मी (खनाल) पनि सामाजिक क्षेत्रमै क्रियाशिल छिन् । नेपाली कांग्रेस सर्लाहीका नेता विनोद खनालका सहोदर भाई स्व. खनालका एक छोरा र एक छोरी रहेका छन् । स्वं खनालको १३ दिने काजकिरियाको काम सुखेपोखरी स्थित आनाथाश्रममै हुनेछ ।