एकीकृत समाजवादीमा लागेका एमालेका तीनै जना प्रदेश सभा सदस्य ।
लालबन्दी – नेकपा एमाले सर्लाहीका तीनै जना प्रदेश सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) खोजेका छन् ।
एमालेका प्रदेश सभाका सांसद बेची लुंगेली, डिल्ली प्रसाद उप्रेती र रवीन्द्र बैठाले जनकपुरस्थित निर्वाचन आयोगको कार्यालयमा सनाखत गर्दै एकीकृत समाजवादी पार्टी रोजेका हुन् । लुंगेली र उप्रेती प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बैठालाई पार्टीले समानुपातिक कोटाबाट सांसद बनाएको हो ।
आफू र सांसद रवीन्द्र बैठाले सनाखत गरिसकेको र अर्का सांसद डिल्ली प्रसाद उप्रेतीको दूतावासमार्फत सनाखतको प्रक्रिया अघि बढेको प्रदेश सभा सदस्य लुंगेलीले उज्यालो अभियान दैनिकसँग बताईन् । उप्रेती अहिले उपचारका लागि दिल्लीमा छन् ।
बिहिवार आफूहित १० जना प्रदेश सभा सदस्यले नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत गरेको लुंगेलीले जनाईन् । सनाखत गर्नेहरुमा शत्रुघन महतो, अशोक यादव, प्रमोद यादव, मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मन्जु यादव, हसिना खातुन, बेची लुंगेली र डिल्ली प्रसाद उप्रेती रहेका छन् ।
यस्तै, सर्लाहीमा सबै भन्दा धेरै ४ जना प्रत्यक्ष निर्वाचित र ४ जना समानुपातिक गरी ८ जना प्रदेश सांसद रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल सर्लाहीका ३ जना सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । प्रदेश सभा सदस्यहरु उपेन्द्र महतो, गौरीनारायण साह र निलमदेवी भुमिहारनीले लोसपा रोजेका हुन् ।
उनीहरुमध्ये गौरीनारायण साह र निमलदेवी भुमिहारनीले लोसपाको पक्षमा सनाखत गरिसकेकी छन् भने उपेन्द्र महतोले आज–भोलीमै सनासत गर्ने स्रोतले जनायो । तीनमध्ये उपेन्द्र महतो र गौरीनारायण साह प्रत्यक्ष र निलमदेवी भुमिहारनी समानुपातिक सांसद हुन् ।