उपेन्द्र प्रसाद कुशवाहा
हरिवन – नेपाली कांग्रेसका नेता समेत रहेका सर्लाही क्षेत्र नं. ४ ख प्रदेशबाट निर्वाचित प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहाले जनता आवास कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको संयोजकको जिम्मेवारी पाएका छन् ।
प्रदेश दुईको भौतिक पूर्वाधार विकास मन्त्रालयको भाद्र १० को (मन्त्री स्तरीय) निर्णयानुसार कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका प्रदेश सांसद कुशवाहा समन्वय समितिको जिल्ला संयोजकमा मनोनित भएका हुन् । उक्त समन्वय समितिले जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माणका लागि लाभग्राही छान्ने, कार्यक्रम सहज रुपमा सम्पन्न गर्न सहजीकरण गर्ने लगायत विभिन्न काम गर्ने बताईएको छ । समितिमा जिल्ला स्थित बाँकी ७ वटै प्रदेश सांसद्हरु सदस्य हुनेछन् ।
हाल दलित समुदायका लागि जनता आवास कार्यक्रमबाट सर्लाहीमा सयौं घरहरु निर्माणका लागि प्रकृयामा छन् भने सयौं घरहरु निर्माण भईसकेका छन् । भर्खर नियुक्ति भएको र हालसम्म कार्यविधि प्राप्त नगरिसकेकाले काम, कर्तब्य र अधिकारका बारेमा प्रश्ट हुन एकसाता लाग्ने कुशवाहाले जानकारी दिए ।
यसअघि प्रदेश सांसद् निरा साह यो समितिको संयोजक थिईन् । समानुपातिक प्रदेश सांसद् साह संघीय सांसद् प्रमोद साहकी श्रीमति हुन् ।