भारतीय सिमा सिमरा फेन्हरा नाकामा विष्णु गाउँपालिकाका अध्यक्ष जबाहर रायसँगै कांग्रेस नेताहरु विनोद खनाल लगायत नेताहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको विष्णु गाउँपालिकास्थित सीमरा फेन्हरादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी लोकमार्ग सम्म जोड्ने सडक कालोपत्रे एवं पुल निर्माणका लागि पहल थालिएको छ ।
भारतीय सीमा दशगजादेखि सिन्धुलीस्थित मदन भण्डारी लोकमार्गसम्म सडक सञ्जाल जोड्नका लागि नेपाली कांग्रेसका नेताहरुले पहल थालेका हुन् । यसअघि हरिवन–क्यानेश्वर सडकलाई लोकमार्गसँग जोड्न पहल थालेका कांग्रेस नेताहरुले बुधबार सीमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका र कौडेना गाउँपालिकाका अध्यक्षहरुसँग भेट गरी सीमादेखि कै सडकलाई लिंक गराउन पहल सूरु गरेका हुन् ।
कांग्रेसका पूर्व पार्टी जिल्ला उपसभापति एवं महाधिवेशन प्रतिनिधि विनोद खनालसहितका नेताहरुले बुधबार संचारकर्मीहरुसहित गएर विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय र कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवसँग भेट गरेका थिए । त्यसक्रममा दुवै गाउँपालिकाका अध्यक्षले भविष्यमा लाईफ लाईन बन्न सक्ने हरिवन–कौडेनाहुँदै सीमरा फेन्हरासम्मको सडकलाई मदन भण्डारी लोकमार्गसँग लिंक गराउने अभियानमा लागि पर्ने प्रतिवद्धता जनाएका थिए । दुवै अध्यक्षले डीपीआर निर्माणका लागि बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।
यसबारेमा आगामी केही दिनमा हरिवनदेखि सीमरा फेन्हरासम्मको सडक अन्तर्गत पर्ने हरिपुर, बरहथवा, चक्रघट्टा तथा हरिवनबाट उत्तर सिन्धुलीको हरिहरपुरगढीसम्मका जनप्रतिनिधिहरुसँग थप छलफलको तयारी गरिएको कांग्रेस नेता खनालले बताए । विष्णु र कौडेना गाउँपालिकाका अध्यक्षसँग भेट गर्न नेता खनालसँगै कांग्रेसको तर्फबाट हरिवन नगरपालिकामा मेयरका प्रत्यासी दीलिप राज भण्डारी, नेताहरु भिखारी राय, रमेश भट्टराई, मुकुन्द थपलिया, चेतन रिजाल लगायत कौडेना हुँदै सीमरा फेन्हरासम्म पुगेका थिए ।
सडक संरचना पहिलादेखिकै भएकाले खाली विस्तार तथा कालोपत्रे एवं कहीँहतै पुल पुलेसा निर्माण गर्नुपर्ने भएकाले भारतीय सिमाक्षेत्रदेखि प्रदेश दुई हुँदै बागमती प्रदेशको मदन भण्डारी लोकमार्गसम्म जोड्ने सडक स्तरोन्नती गर्दा आर्थिक, सामाजिक, साँस्कृतिक र भौगोलिक रुपमा ठूलो कायापलट हुने नेता खनालको धारणा थियो । सम्बन्धित सबै स्थानीय तह मिलेर सडक स्तरोन्नतीको डीपीआर निर्माणका लागि बजेट छुट्याउने तथा डीपीआर अनुसारको बजेट संघीय र प्रदेश सरकारबाट छुट्याउनका लागि पहल गरिने नेता खनालले बताए ।