logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रियंका भुजेल हत्या प्रकरण : अभियुक्त सार्वजनिक


  • उज्यालो अभियान

अभियुक्तलाई सार्वजनिक गरिँदै । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको रानिगन्जकी प्रियंका भुजेलको हत्यामा संलग्न अभियुक्तहरुलाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ ।

लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोल निवासी राजेश भुजेलकी छोरी १४ वर्षीया प्रियंकाको भदौ १ गते राती लालबन्दी नगरपालिका–६, स्थित कालिन्जोर खोलामा गाडेको अवस्थामा शव फेला परेको थियो । प्रहरीले सोमवार अपरान्ह जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी प्रियंकाको हत्या भएको पुष्टी गर्दै हत्यामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको हो ।

घटनामा संलग्न मृतक बालिकाको गाउँ रानिगन्जकै १९ वर्षीय कृष्ण साह र वर्ष १९ कै अनिश दाहाललाई सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुलाई भदौ १ गते नै पक्राउ गरेको थियो ।
पत्रकार सम्मेलनमा सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष सिंह राठौरले मृतक प्रियंका र पक्राउ परेका अनिश दाहालबीच प्रेम सम्वन्ध रहेको खुलेको जानकारी दिए । कृष्ण साह भने अनिशकै साथी हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा साउन ३१ गते प्रियंका हराएकै राती अनिश र कृष्णसँग उनको भेट भएको देखिएको छ । त्यसपछि प्रियंकाले आफूलाई भगाउन भनेको र युवकहरुले नमानेको देखिन्छ ।
आफूलाई नभगाएपछि प्रियंका चिच्याएको र त्यही बेला दुई युवक मिलेर घाँटी थिची उनको हत्या गरेको देखिएको एसपी राठौरले पत्रकार सम्मेलनमा बताए । एसपी राठौरले प्रियंकामाथि बलात्कार भए नभएको बारेमा पोष्टमार्टम रिपोर्टसँगै भिसेरा परीक्षणको रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।

बालिकाको हत्यामा अहिलेसम्म पक्राउ परेका दुई युवकको मात्रै संलग्नता देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै युवकमाथि अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतले सोमवार दोस्रो पटक ३ दिनको म्याद प्रदान गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।

यता, मृतक बालिकाको शव भने अझै परिवारले बुझिसकेका छैनन् । गत वुधवार नै पोष्टमार्टम भइसकेको मृतक प्रियंकाको शव जिल्ला अस्पताल मलंगवामा नै रहेको छ ।