भेल्ही – सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, भेल्हीमा ट्रान्सफर्मर जडानको विषयलाई लिएर बिहिवार तनाव भएको छ ।
गाउँमा बिग्रिएको १ सय केभीको ट्रान्सफर्मरको साटो २ सय केभीको ट्रान्सफर्मर जडान गर्न स्थानीयले माग गरेका छन् । तर नेपाल विद्युत् प्राधिकरणको मलंगवा वितरण केन्द्रले बिहिवार १ सय केभीकै ट्रान्सफर्मर जडान गर्न लागेपछि स्थानीयले विरोध गर्दा तनाव भएको हो ।
स्थानीयले २ सय केभीकै ट्रान्सफर्मर जडान हुनुपर्ने मागसहित ट्रान्सफर्मर बोकेर गएको प्राधिकरणको गाडीलाई घेरेर राख्नुका साथै गाउँपालिका कार्यालयमा समेत पुगेर नाराबाजी गरेका हुन् । त्यसक्रममा गाउँपालिकाको कार्यालयको जेनेरेटरमा तोडफोड हुन थालेपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
केही दिनअघिबाटै ट्रान्सफर्मर बिग्रदा आफूहरु अन्धकारमा बस्नु परेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयहरुले २ सय केभीको ट्रान्सफर्मर जडान नभए भेल्हीहुँदै चन्द्रनगरतर्फ जाने लाईन काट्नुपर्ने बताएका छन् ।
यसैबीच, ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरमा दाहा मनाउने विषयमा बिहिवार दुई पक्षबीच सामान्य झडप हुँदा केही मानिस घाईते भएका छन् । तत्कालै प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाईबुझाई गरेकाले ठूलो घटना हुन नपाएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।