मलंगवा – केही समय नेकपा एमालेमा रहेका नेता शिवपुजन राय पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।
सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत रामनगर गाउँपालिकाको बिर्ता गाउँमा घर भएका नेता रायलाई काठमाण्डौंस्थित खुलमटारमा रहेको आफ्नै निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराएका हुन् । उनलाई प्रचण्डसहित माओवादी केन्द्र सर्लाहीका कार्यवाहक जिल्ला अध्यक्ष कमल बुढाथोकी, पार्टीका नेता एवं राष्ट्रिय सभा सदस्य राधेश्याम पासवान, पार्टीको ४ नम्वर क्षेत्रका नेता फकिरा महतो लगायतले खादा ओढाएर पार्टीमा स्वागत गरेका छन् ।
रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन लड्नबाट बन्चित भएका राय नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्नुअघि माओवादीमै थिए । पछि सर्वोच्चले एमाले र माओवादीलाई अलग–अलग गरेपछि उनी एमालेतर्फ लागेका थिए ।
सुरक्षाको हिसाबले अति संवेदनशील मानिने क्षेत्र नं. ४ मा नेता राय र नेपाली कांग्रेसका नेता एवं त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहबीच टसल रहँदै आएको छ । राय र सिंह पक्षको विवादले बेला–बेलामा ४ नम्वर क्षेत्रमा तनाव उत्पन्न हुने गरेको छ ।