logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अस्पतालको लापरवाही : पाँच महिनाअघि म्याद गुज्रिएको औषधि बिक्री


  • उज्यालो अभियान

बिरामीलाई दिइएको म्याद गुज्रिएको औषधि ।

बागमती – सर्लाहीको बागमतीमा रहेको एक अस्पतालले बिरामीलाई पाँच महिनाअघि नै म्याद गुज्रिएको औषधि बिक्री गरेको पाइएको छ ।

बागमती नगरपालिका–१२, वीर गोर्खाली चौकमा रहेको बागमती मोडेल हस्पिटलले मोटरसाइकल दुर्घटनामा परेर उपचार गर्न पुगेका बिरामीलाई अंग्रेजी महिना गत मार्चमै म्याद सकिएको औषधि बिक्री गरेको भेटिएको हो । हरिवन नगरपालिका–३, सासापुर घरभई हाल बागमती नगरपालिका–९, मा बस्ने मिलन लामालाई साउन २२ गते अस्पतालकै फार्मेसीबाट पाँच महिनाअघि म्याद सकिएको क्याल्सीयम र भिटामिन डी–थ्रि ट्याब्लेट दिएको खुलेको हो ।

लामाका भिनाजु वुद्धिमान लामाले अस्पतालले लापरवाही ढंगले आफूहरुलाई म्याद गुज्रिएको औषधि दिएको बताए । अस्पतालमा दोहो¥याएर औषधि लिन जाँदा पनि पुनः म्याद गुज्रिएकै औषधि दिएर पठाएको उनले दावी गरेका छन् ।
‘पहिलोचोटी लिँदा मार्चमै म्याद सकिएको औषधि दिएर पठाएको रहेछन्, पछि घरमा आएर खानेबेला थाहा भयो,’ बिरामीका भिनाजु लामाले भने, ‘फेरि दोहो¥याएर जाँदा त्यही म्याद गुज्रिएकै औषधि दिएर पठाइयो । यसबाट अस्पतालले जानाजान बिरामीको स्वास्थ्यमा खेलवाड गरेर चरम लापरवाही गरेको प्रष्ट हुन्छ ।’

अस्पतालले पनि बिरामीलाई म्याद गुज्रिएको औषधि बिक्री भएको स्वीकार गरेको छ । अस्पतालका संचालक डा. उपेन्द्र महतोले फार्मेसीका कर्मचारीको गल्तीका कारण बिरामीलाई म्याद सकिएको औषधि बिक्री भएको स्वीकार गरेका छन् ।

डा. महतोले बिरामीलाई जानजान नभई भूलवस् म्याद गुज्रिएको औषधि बिक्री हुन पुगेको बताए । ‘म्याद गुज्रिएको औषधि बिक्री भएकै हो, यो कुरा म स्वीकार गर्छु,’ डा. महतोले उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीसँग भने, ‘यस विषयमा हामीले बिरामीसँग क्षमा समेत मागिसकेका छौँ, आगामी दिनमा यस्तो गल्ती हुँदैन् ।’

डा. महतोले म्याद गुज्रिएको औषधि सेवन गर्दा बिरामीमा कुनै साईड इफेक्ट नदेखिएको र औषधि सेवनबाटै बिरामीलाई केहीकसो भए अस्पतालले जिम्मा लिने बताए ।