शताब्दी पूरुष बबरजंग थापालाई कार्यक्रममा अभिनन्दन गरिँदै । (तस्बिर : उज्यालो अभियान)
हरिवन – नेपाली कांग्रेस हरिवन नगर समितिले शनिबार शताब्दी पुरुष बबरजंग थापालाई अभिनन्दन् गरेको छ ।
यही साउन ५ गतेबाट १०० वर्ष लागेका हरिवन नगरपालिका–९, सुखेपोखरी निवासी थापालाई हरिवनको सुखेपोखरी स्थित चतुर्भूजेश्वर महादेव मन्दिर परिसरमा आयोजित कार्यक्रममा अभिनन्दन पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । थापाले हरिवनको शैक्षिक, धार्मिक, सामाजिक लगायत क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन् गरिएको नेपाली कांग्रेस हरिवनले जनाएको छ । २०३२ सालमा हरिवनको उपप्रधानपञ्च समेत रहिसकेका थापा हरिवनको महादेव जनता नमूना मावि र चतुर्भूजेश्वर जनता मावि सुखेपोखरीका संस्थापक हुन् भने सुखेपोखरी स्थित शिवशागर पोखरी निर्माण र चतुर्भूजेश्वर महादेव मन्दिर स्थापना सहित विभिन्न संस्थामा योगदान पुर्याउने ऐतिहाँसिक व्यक्तित्वको रुपमा परिचित छन् । हरिवन बजार, पूरानो बजार सहित सुखेपोखरी बस्ती बसाउन समेत महत्वपूर्ण भूमिका रहेको त्यस क्षेत्रका स्थानीय स्मरण गर्छन् । २ छोरा, २ बुहारी, ५ छोरी, १५ नाति, १० नातिना, ९ नातिनी बुहारी, १७ पनाति, १३ पनातिनी र १ खनातीका मूल अभिभावकको रुपमा रहेका थापाले २००७ सालमा आफू हरिवन आएको कार्यक्रममा बताए ।
यस्तै कांग्रेस हरिवनले सोही कार्यक्रमममा नेपाल प्रेस युनियनको तर्फबाट उम्मेद्वार भई नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित अध्यक्ष एवं यस उज्यालो अभियान मिडियाका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई समेत दोसल्ला ओढाएर बधाई एवं कदर पत्र सहित सम्मान गरेको छ । कांग्रेसले अध्यक्ष क्षेत्रीको नेतृत्वमा चयन भएका सम्पूर्ण कार्यसमितिलाई नै सफल कार्यकालको शुभकामना सहित बधाई दिएको छ । कार्यक्रममा उपस्थित पत्रकार महासंघ सर्लाहीका नव निर्वाचित सहसचिव स्वस्तिमा अधिकारी, सदस्य सञ्जु कर्णलाई समेत खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममै कांग्रेसको तर्फबाट चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको अध्यक्षमा निर्वाचित बासुदेव निरौला सहित सदस्यहरु सोनी कुमारी बम्जन लगायत, सगुन सहकारीमा कांग्रेसकै तर्फबाट प्रतिनिधित्व गर्ने विनोद कार्की लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई समेत खादा ओढाएर सम्मान गरिएको कार्यक्रम संचालक एवं कांग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडाले जानकारी दिए । कांग्रेस हरिवनका नगर सभापति रामशरण उप्रेतीको अध्यक्षता एवं शताब्दी पुरुष बबरजंग थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कांग्रेस नेतृ बुककुमारी थापा, कांग्रेस नेता विनोद कार्की, अभिनन्दित बबरजंग थापाका छोरा पूरुषोत्तम थापा, स्थानीय समाजसेवी कृष्णबहादुर खड्का, कांग्रेस महासमिति सदस्य शेरबहादुर तामाङ, पत्रकार महासंघ अध्यक्ष टंकबहादुर क्षेत्री लगायतले शताब्दी पुरुष थापाको योगदानको चर्चा सहित शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कांग्रेस नेता रामप्रसाद मैनाली, जिल्ला सहसचिब डोरप्रसाद भट्टराई, पिताम्बर महतो, नेकपा एमाले नेतृ सिता थापा लगायतको उपस्थिती रहेको थियो ।