logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

ढल्केबर ग्रिडको ट्रान्सफर्मर बिग्रदा सर्लाहीको विद्युत् झनै अनियमित


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – ढल्केबर ग्रिड शाखाको पावर ट्रान्सफर्मर जल्दा सर्लाहीमा विद्युत् थप अनियमित भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर ग्रिड शाखाले एक सूचना निकालेर आफ्नो पावर ट्रान्सफर्मरमा खराबी आएको र बदली गर्न केही दिन लाग्ने जनाएको छ । सर्लाहीमा मलंगवा वितरण केन्द्रले ढल्केबरको लाईन जोड्ने गर्छ । लालबन्दी र बरहथवा वितरण केन्द्रले भने रौतहटको चन्द्रनिगाहपुर सव–स्टेसनबाट बत्ती जोड्दै आएका छन् ।

अहिले ढल्केबरमा खराबी आएपछि मलंगवा वितरण केन्द्रले पनि चपुरकै लाईन जोडिरहेको छ । त्यसले गर्दा चन्द्रनिगाहपुर सव–स्टेशनमा लोड बढेको प्राविधिकहरुले बताएका छन् ।

लोड धेरै भएकाले पिक आवर अर्थात बिजुलीको धेरै प्रयोग हुने साँझको समयमा लोड थेग्न नसकेर बत्ती गइरहने समस्या देखा परेको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले उज्यालो अभियानसँग बताए । झाले अस्ती सोमवार राती भने रौतहटको पौराही जंगलमा पिन पम्चर भएका कारण जिल्लाभरी नै रातभर बत्ती अवरुद्ध भएको बताउनु भएको छ ।

खराबी आएको ठाउँमा मर्मत गरेर लालबन्दी र मलंगवा वितरण केन्द्रमा हिजो बिहानैदेखि बत्ती सूचारु गरिए पनि बरहथवा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा हिजो दिउँसोबाट मात्रै बिजुली छाडिएको छ । अहिले बिहान जिल्लाभरकै विद्युत् सूचारु छ ।

लाईनमा कुनै समस्या आउँदा प्राविधिकहरुले यहाँबाट पोलैपिच्छे हेर्दै जानुपर्ने भएकाले जंगल क्षेत्रमा खराबी आउँदा बत्ती सूचारु गर्न घण्टौं लाग्ने गरेको प्राविधिकहरुले बताएका छन् । लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले नवलपुरमा बनिरहेको ग्रिड सव–स्टेसनको काम पूरा भएर चालू नहुन्जेलसम्म सर्लाहीको बिजुली बत्ती यस्तै अवस्थामा रहने बताए ।

प्राधिकरणले अहिले लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही खोला नजिकै ग्रिड सव–स्टेसन बनाइरहेको छ ।