त्रिभुवन नगर – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नं. ३ मा रहेको प्रहरी चौकी त्रिभुवन नगरको नयाँ भवन निर्माण भएको छ ।
दुई वर्षदेखि निजी घरबाट संचालन भइरहेको प्रहरी चौकीको आफ्नै नयाँ भवन तयार भएको हो । नवनिर्मित भवनको सुक्रवार प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकारले उद्घाटन गरेका हुन् ।
भवनको उद्घाटन गर्दै डीआईजी रन्जितकारले सीमा क्षेत्रमा हुने अपराध, चोरी निकासी नियन्त्रणका लागि जिम्मेवार भएर काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए । डीआईजी रन्जितकारले न्यून स्रोत साधन हुँदा समेत नेपाल प्रहरीले प्रशङ्सनीय कार्य गरेको चर्चा गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेपाल–भारत सीमा नजिकै रहेको प्रहरी चौकी त्रिभुवन नगरको अत्यन्तै पुरानो एवं जिर्ण भवन दुई वर्षअघि भत्काइएको थियो । त्यसपछि निजी घरबाट प्रहरी चौकी संचालन हुँदै आएको थियो ।
दुई करोड ३५ लाख रुपियाँ लागतमा प्रहरी चौकीको नयाँ भवन निर्माण गरिएको हो । बेलायती संस्था डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डीएफआइडी) को आर्थिक सहयोग र युनाइटेड अफिस फर प्रोजेक्ट सर्भिस काठमाण्डौं (यूएनओपीएस) अन्तर्गत मोडर्नाइजेसन एण्ड एम्प्रुभमेन्ट अफ पुलिस प्रोजेक्ट (एमआइपीपी) को आयोजनामा भवनको निर्माण गरिएको सर्लाही प्रहरीले जनाएको छ । नवनिर्मित प्रहरी चौकी भवनमा ११ वटा कोठा, मेस, स्नान कक्ष र अपाङ्गमैत्री शौचालय निर्माण गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीको संचालन तथा जिल्ला प्रहरी प्रमुख सन्तोष सिंह राठौरको स्वागतमा आयोजित भवन उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राम कुमार महतो र ब्रह्मपुरी गाउँपालिकाकी उपाध्यक्ष गीता देवी रायले समेत मन्तव्य राखे । जिल्लाको ग्रामीण भेगमा पर्ने प्रहरी चौकी त्रिभुवन नगरको भवन उद्घाटन गर्न आउनु भएका डीआईजी रन्जितकार त्यहीँबाट जुम मार्फत प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीसँगको बैठकमा समेत सहभागी हुनुभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले बताए ।
भारतीय बजारसँग सीमा जोडिएको र दिनहुँ सामान ओसार पसार हुने नाका भएकाले २०३८ सालमै त्रिभुवन नगरमा प्रहरी चौकीको स्थापना गरिएको थियो ।