बागमतीमा निर्माणाधीन भरत ताल ।
बागमती – सर्लाहीको बागमतीस्थित निर्माणाधीन भरत तालमा डुबेर बेपत्ता युवकको अहिले बिहानबाट पुनः खोजी सुरु गरिँदै छ ।
हिजो दिउँसो तालमा माछा मार्न गएका बागमती नगरपालिका १ का १८ वर्षीय सुशान्त थापा बागमती नगरपालिकाले वडा नं. १२ मा १२१ बिघा क्षेत्रफलमा निर्माण गरिरहेको भरत तालमा डुबेर बेपत्ता भएका थिए । हिजो दिउँसो ४ बजेतिर तालमा डुबेका थापाको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मिलेर राती अबेरसम्म खोजी गरेका थिए ।
तालमा संचालित बोट र नेपाली सेनाको अर्को एउटा बेग्लै बोटको सहायताले तथा पौडी खेलेर खोज्दा पनि युवकको अवस्था थाहा हुन नसकेको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अवधेश कुमार यादवले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए । उनले अहिले बिहानबाट पुनः तालमा बोट प्रयोग गरी र पौडी खेलेर बेपत्ता युवकको खोजी गर्न नेपाली सेनासँग समन्वय गरिरहेको जानकारी दिए ।
प्रहरी निरीक्षक यादवका अनुसार थापासँगै तालमा माछा गर्न पुगेका अरु ५÷६ जना भने पौडी खेलेर बाहिर निस्किएका थिए ।
बागमती नदीको पानी ल्याएर हालिएका कारण सो तालमा माछा मार्नका लागि स्थानीयहरु पुग्ने गरेका छन् । यस्तै, तालमा घुमफिरका लागि पुग्नेहरु पनि बढेका छन् ।