लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको जनज्योति नमूना माध्यमिक विद्यालयका ९० जना छात्रालाई सुक्रवार साइकल वितरण गरिएको छ ।
प्रदेश २ सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययन गरी भर्खरै कक्षा ९ मा प्रवेश गरेका छात्राहरुलाई एक÷एक वटा साइकल वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका संयोजक एवं लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको विद्यालयका शिक्षक चेतबहादुर मगरले जानकारी दिए ।
साइकल वितरणकै अवसर पारेर विद्यालयको नवनिर्मित दुई तले प्रशासनीक भवन र आठकोठे कक्षाकोठा भवन समेत उद्घाटन गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा नगर प्रमुख खड्काले छात्रछात्राका लागि नगरपालिकाको तर्फबाट व्यवस्थित किसिमको शौचालय निर्माण गर्ने आश्वासन दिएका विद्यालयका प्रधानाध्यापक रामनिवास साहले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
जनज्योति नमूना माविमा ३५ सय भन्दा बढी विद्यार्थी अध्ययरत छन् । विद्यार्थीको सङ्ख्या धेरै हुँदा शौचालयको अभाव हुँदै आएको छ ।