logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

राष्ट्रिय परिचय पत्र वितरणका लागि जनप्रतिनिधि र वडा सचिवलाई अभिमुखीकरण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र राष्ट्रिय परिचय पत्र वितरणका लागि मंगलवार वडाध्यक्ष, वडा सचिव र शिक्षकहरुलाई अभिमुखीकरण प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिकाको सभा हलमा अभिमुखीकरण प्रदान गरिएको हो । सहभागीहरुलाई सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले राष्ट्रिय परिचय पत्र भनेको के हो ?, यो वितरण गर्नुको उद्देश्य, वितरण गर्ने प्रक्रियालगायतबारे प्रष्ट पारे ।

नागरिकतालाई विस्थापित गर्दै सरकारले हरेक नागरिकलाई अब राष्ट्रिय परिचय पत्र वितरण गर्दै छ । लालबन्दी नगरपालिकाभित्र पनि साउन १ गतेदेखि यसको वितरण कार्य थाल्ने भएकाले वडाध्यक्ष, वडा सचिव र सचिव उपलब्ध नरहेको स्थानमा शिक्षकमार्फत पनि यो कार्यक्रमलाई अगाडि बढाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दिलिप कुमार सिंह, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी महतोलाई नगरपालिकाको तर्फबाट फूलमाला र खादा पहि¥याएर स्वागत समेत गरिएको थियो ।

सर्लाहीमा अहिलेसम्म बागमती, हरिवन, बलरा र मलंगवा नगरपालिका तथा रामनगर गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण भइसकेको छ । धनकौल र बसबरिया गाउँपालिकामा अभियान चलिरहेका बेला निषेधाज्ञा भएपछि बीचमै अभियान रोकिएको थियो ।