लालबन्दी – केन्द्रमा पार्टी एकता गर्ने प्रयास भइरहँदा नेकपा एमालेको केपी शर्मा ओली समूहले सर्लाहीसहित तीन जिल्लामा अध्यक्ष र सचिव मनोनयन गरेको छ ।
निर्वाचित जिल्ला अध्यक्ष र सचिव भएपनि ओली समूहले अध्यक्ष र सचिव चयन गरेको हो । ओली समूहले पार्टीको सर्लाही अध्यक्षमा मलंगवा निवासी राजनारायण साह र सचिवमा जानकीनगर घर भएका केदार खत्रीलाई चयन गरेको हो ।
पहिले वरिष्ठ नेता माधव कुमार नेपाल निकट रहेका साह अहिले ओली समूहतिर लागेका छन् भने खत्री माओवादी केन्द्रबाट एमालेको ओली समूह निकट बनेका हुन् ।
ओली समूहकी प्रदेश २ अध्यक्ष ज्वाला कुमारी साहले उनीहरुलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिएको पत्र बिहिवार (आज) मात्रै सार्वजनिक भएको छ । नेतृ ज्वाला कुमारी साहले माओवादी केन्द्र छाडेर आफ्नो पार्टीमा आएपछि ओलीले उनलाई केही समय अघिमात्रै प्रदेश २ को अध्यक्षको जिम्मेवारी दिएका थिए ।
यता, एमाले सर्लाहीका जिल्ला अध्यक्ष रेवती पन्तले ज्वाला कुमारी शाह आफै अवैध रहेकाले उनले अध्यक्ष र सचिव तोक्नुको कुनै अर्थ र तुक नरहेको प्रतिक्रिया दिएका छन् । उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँगको कुराकानीमा अध्यक्ष पन्तले आफूहरुको गुट सक्रिय नै रहेको भन्ने झल्को दिन यस प्रकारको नाटक रचिएको आरोप लगाए ।
एमाले सर्लाहीका अध्यक्ष पन्त वरिष्ठ नेता झलनाथ खनाल र सचिव बेची लुंगेली अर्का वरिष्ठ नेता माधव कुमार नेपाल निकट मानिन्छन् ।