logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बर्माको बागमती नदीस्थित खैर्बा घाटमा अन्त्येष्टि


  • उज्यालो अभियान

स्वर्गिय बर्मा ।

रामनगर बोहर्वा – सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको हिजो (सोमवार) अन्त्येष्टि गरिएको छ ।

उनको रामनगरस्थित बागमती नदीको खैर्बा घाटमा अन्त्येष्टि गरिएको हो । रामनगर गाउँपालिका वडा नं. १ खैर्बाका स्थायी वासिन्दा बर्माको अन्त्येष्टिमा सयौँ गाउँले सहभागी भए ।

अन्त्येष्टि अघि उनको पार्थिव शरीरमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र गाउँलेहरुले फूलमाला चढाएर श्रद्धान्जली व्यक्त गरेका छन् । पार्टीको तर्फबाट नेपाली कांग्रेसका जिल्ला उपसभापति सुरेन्द्र सिंह र ४ नम्वर क्षेत्रका क्षेत्रीय सभापति एवं धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रे साहले पार्टीको झण्डा ओढाएर बर्माप्रति श्रद्धान्जली व्यक्त गरे ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित बर्माको ६८ वर्षको उमेरमा उपचारका क्रममा शनिवार राती काठमाण्डौंको मेडिसेटी अस्पतालमा निधन भएको थियो । सरल स्वभावका बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप, डाइबेटिज जस्ता रोगबाट ग्रसित थिए ।

बर्माको शव आइतवार राती १२ बजेतिर काठमाण्डौंबाट गाउँ ल्याई सोमवार मध्यान्ह अन्त्येष्टि गरिएको रामनगर गाउँपालिका–१, का वडाध्यक्ष दिनेश मिश्रले जानकारी दिए । वडाध्यक्ष मिश्रका अनुसार अध्यक्ष बर्माकी श्रीमती सुधा पनि अहिले बिरामी छिन् ।

सुधाको मेडिसिटी अस्पतालमै उपचार चलिरहेको भएपनि उनलाई श्रीमानको शवसँगै आइतवार राती गाउँमै ल्याइएको छ । सुधाले छोराको किड्नी फेल भएपछि एउटा किड्नी दिएकी छिन् ।

बर्मा दम्पत्तिको सन्तानको रुपमा एउटा मात्रै छोरा छन् । गाउँपालिका अध्यक्ष बर्माको निधनपछि अहिले रामनगर गाउँपालिकावासी स्तब्ध भएका छन् ।

बर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा बिजयी हुनुअघि पन्चायत व्यवस्थामा दुई पटक र प्रजातन्त्र आएपछि पनि एक पटक साबिक खैर्बा गाविसको अध्यक्ष बेका थिए ।