logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बर्माको शव काठमाण्डौंबाट सर्लाही ल्याइँदै, भोली बिहान गाउँमै अन्त्येष्टि


  • उज्यालो अभियान

खैर्बा – जिल्लाको दक्षिण–पश्चिम भेगस्थित बागमती नदी छेउमा पर्ने रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ ।

६८ वर्ष पुगेका बर्माको उपचारका क्रममा गएराती मेडिसेटी अस्पताल, काठमाण्डौंमा निधन भएको हो । रामनगर गाउँपालिका वडा नं. १ खैर्बा निवासी बर्मा स्वास्थ्यमा समस्या देखिएपछि असार १४ गते उपचारका लागि काठमाण्डौं गएका थिए ।

सरल स्वभावका बर्मा लामो समयदेखि मुटु, मधुमेह, उच्च रक्तचाप, डाइबेटिज जस्ता रोगबाट ग्रसित थिए । उनी जिल्लामै र जनकपुरमा उपचार गराउँदा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि काठमाण्डौं गएका हुन् ।

तीनपटक सम्म साबिकको खैर्बा गाविसको अध्यक्ष र अहिले गाउँपालिकाको अध्यक्ष हुनुभएका बर्माको निधनपछि पूरै गाउँपालिकावासी शोकमग्न भएका रामनगर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष एवं बर्माका छिमेकी दिनेश मिश्रले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

बर्मा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनको शव अन्येष्टिका लागि आज दिउँसो काठमाण्डौंबाट सर्लाहीका लागि हिँडाइएको छ ।

रातीसम्म शव गाउँमा ल्याएर भोली बिहान अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको पार्थिक शरीरमा काठमाण्डौंमै काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार राय, प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका मन्त्री वीरेन्द्र कुमार सिंह, अर्का प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, संविधान सभा सदस्य हरेश महतो लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली व्यक्त गरे ।

आफूहरु अहिले पार्टीको क्रियाशील सदस्यताको विवाद समाधानका लागि काठमाण्डौंमै रहेकाले भोली गृह गाउँमा हुने अन्त्येष्टिमा सहभागी हुन नसक्ने हुँदा आजै काठमाण्डौंमा नै पार्टीको झण्डा ओढाएर बर्माप्रति श्रद्धान्जली अर्पण गरेको काँग्रेस सर्लाहीका सभापति रायले उज्यालो अभियानकर्मी खत्रीसँग भनेका छन् ।

गाउँपालिका अध्यक्ष बर्मा बिरामी परेपछि गाउँपालिकाको कामकाज केही समय अघिदेखि नै प्रभावित हुँदै आएको थियो । रामनगर गाउँपालिकाले यस वर्ष गाउँ सभा समेत गर्न सकेको छैन् ।

दिवंगत बर्माकी श्रीमती सुधा बर्मा पनि अहिले बिरामी परेकी छिन् । उनको मेडिसेटी अस्पतालमै उपचार चलिरहेको नेपाली काँग्रेसका नेता एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले उज्यालो अभियानकर्मी खत्रीसँग टेलिफोनमा बताएका छन् ।