logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा अहिले सक्रिय कोरोना संक्रमित ९० जना मात्रै : सीडीओ कार्यालय


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बीर ः उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा अब सक्रिय कोरोना संक्रमित ९० जना मात्रै रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले हिजो (बिहिवार) निकालेको दैनिक बुलेटिनमा सक्रिय संक्रमितको संख्या ९० रहेको उल्लेख छ । कार्यालयकै अनुसार (अस्ती) वुधवारसम्म जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १५८ रहेको थियो ।

बिहिवार एकैदिन ६८ जना संक्रमणमुक्त भएका छन् भने नयाँ संक्रमित थपिएका छैनन् । यसअघि असार १४ गते निषेधाज्ञा थप्नु भन्दा अघिल्लो दिनसम्म जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ९ सय भन्दा माथि थियो ।

निषेधाज्ञामा लचकता अपनाउँदै थप गर्ने बेला एक्कासी संक्रमितको संख्या घटाएर ४ सयको हाराहारीमा ल्याइएको थियो । त्यसरी निषेधाज्ञा खुकुलो पार्नकै लागि सक्रिय संक्रमितको संख्या घटाएको भन्दै त्यतिबेला जिल्ला प्रशासन कार्यालयको चर्को आलोचना भएको थियो ।

स्रोतका अनुसार ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा कार्यालय खोल्न र यातायात संचालनको अनुमति दिन नमिल्ने भएकाले त्यसबेला सक्रिय संक्रमितको संख्या आधा भन्दा बढी घटाएर देखाइएको हो । असार १४ पछि जिल्लामा निषेधाज्ञा खुकुलो पारिएको छ ।

सरकारी कार्यालयहरुले पालिका अनुसार बार तोकेर सेवा दिन थालेका छन् भने बजारका पसल व्यवसाय जतिबेला पनि खुल्न थालेका छन् । दिउँसो चल्ने बसहरुबाहेक टेम्पु, माइक्रो जस्ता सानाखाले सवारी र रात्री बस चल्न थालिसकेका छन् ।

दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट सर्लाहीमा २४ सय ८५ जना संक्रमित भएका छन् । त्यसमध्ये २४ सय २ जना निको भएका छन् । अहिले ९० जना संक्रिय संक्रमित छन् भने ८२ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमणको जोखिम टरिनसकेको भन्दै जिल्लामा असार २१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी नै राखिएको छ ।