फोटो क्याप्स्न : गत वर्ष असार अन्तिमको वर्षापछि नारायणखोलामा ढलेको बिजुलीको पोल । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाही जिल्लाभर रातीदेखि विद्युत अवरुद्ध छ ।
रौतहटको पौराही जंगलमा रुख ढलेर बिजुलीको तार चुडिँदा चन्द्रनिगाहपुरबाट सर्लाही जिल्लातर्फ ल्याइएको ३३ केभी मुख्य प्रशारण लाइन नै अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण, लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले उज्यालो अभियानलाई जानकारी दिनुभयो ।
आफूहरु भर्खरै रुख ढलेको स्थानमा पुगेको र तार गाँसेर विद्युत सूचारु गर्न केही समय लाग्ने प्राविधिक श्रेष्ठले बताए । चन्द्रनिगापुरबाट लामो जंगल छिचोलेर ल्याइएको सर्लाहीको विद्युत वितरण प्रणालीमा बारम्बार समस्या आउने गरेको छ ।
अहिले वर्षायाममा भारी वर्षा र हावाहुरीले रुख र रुखका हांगाबिंगा खसेर बिजुलीको पोल तथा तारमा क्षति गर्दा धेरै समस्या आउने गरेको बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले बताए ।
उनले बर्खायाम भरी अब यसरी विद्युतमा पटक-पटक समस्या आइरहने जानकारी दिए ।