logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भारतीय सिमामा जंगे पिलर खोज्दै प्रदेश प्रमुख झा (फोटो फिचर सहित)


  • उज्यालो अभियान

मधुवनी नाका स्थित दशगजामा लड्ने अवस्थामा पुगेको जंगे पिलर हेर्दै प्रदेश प्रमुख राजेश झा ।

टंकबहादुर क्षेत्री/मलंगवा – प्रदेश दुईका प्रमुख राजेश झाले बुधबार दिनभर सर्लाही स्थित भारतीय सीमा क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।

सर्लाहीको संग्रामपुर नाका स्थित दशगजामा रहेको जंगे पिलर हेर्दै प्रदेश प्रमुख राजेश झा तथा सुरक्षा अधिकारीहरु ।

प्रदेश प्रमुख कार्यालयका सचिब ध्रुव गैंडा, नेपाल प्रहरीका प्रदेश दुई प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश रन्जितकार, सशस्त्र प्रहरी बलका प्रदेश दुई प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई लिएर आएका प्रदेश प्रमुख झाले सर्लाहीको पूर्वी संग्रामपुर नाकादेखि पश्चिम मधुवनी नाकासम्मको सिमाक्षेत्र निरीक्षण गरेका हुन् । प्रदेश प्रमुख झाले संग्रामपुर नाका, त्रिभुवननगर नाका, भाँडसर नाँका, खुटौना नाका, सिमरा फेनरा नाका र मधुवनी नाका स्थित दशगजामा रहेको जंगे पिलर तथा सानो पिलरहरुको निरीक्षण गरेका थिए ।

त्रिभुवननगर नाका स्थित दशगजामा रहेको सानो पिलर ।

सिमा क्षेत्रको निरीक्षणका क्रममा प्रदेश प्रमुख झाले नेपाल र भारत दुवै देशका नागरिकसँग स्थानीय अवस्थाका बारेमा सामान्य जानकारी समेत लिएका थिए । त्यस्तै झाले मंगलबार रातीदेखि परेको वर्षाले डुबानमा परेको भाँडसर क्षेत्रको निरीक्षण एवं डुबानपीडित स्थानीय बासिन्दाको गुनासो समेत सुन्ने काम गरेका थिए । वर्षाका कारण हुलाकी एवं नाका क्षेत्र जाने सहायक सडकहरु क्षतविक्षत बनेका कारण प्रदेश प्रमुख झाले पटक–पटक पैदलयात्रा गर्नु परेको थियो । सडकको अवस्था दयनीय भएकाले बिहान ९ बजेदेखि सूरु भएको निरीक्षण कार्यक्रम साँझ अबेरसम्म चलेको थियो ।

त्रिभुवननगर स्थित नेपाल भारत छुट्याउने सिमा झिम खोलाको पूल ।

सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीमा खाना खानु अघि प्रदेश प्रमुख झा लगायतले आँप लिच्ची लगायत फलफूलका विरुवा समेत रोपेका थिए । अवलोकन निरीक्षणमा नेपाल प्रहरीका सर्लाही प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल १० नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिपकुमार सिंह, नेपाली सेना भैरवी दल गण मलंगवा गुल्मका गुल्मपति सेनानी श्याम थपलिया, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । संग्रामपुरबाट प्रवेश गरेका झा मधुवनी नाका निरीक्षण पश्चात बरहथवा–नयाँरोड हुदै साँझ सशस्त्र प्रहरी बल हरिवन वेसक्याम्पमा चिया खाएर जनकपुरतर्फ प्रस्थान गरेका थिए । साँझ हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईंले प्रदेश प्रमुख झालाई चियापान पश्चात हरिवनबाट बिदाई गरेका थिए ।

संग्रामपुर नाका स्थित दशगजामा रहेको जंगे पिलर हेर्न जाँदै प्रदेश प्रमुख राजेश झा ।

प्रदेश प्रमुख कार्यालयका सचिव गैंडाका अनुसार विभिन्न मिडियाले प्रदेश दुईका भारतीय सिमा मिचिएको लगायत समस्या रहेको औंल्याएपछि प्रदेश दुईको अभिभावकको हिसाबले सर्लाही स्थित भारतीय सिमाक्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । ‘भारतीय सिमाक्षेत्रमा अतिक्रमणको अवस्था, स्थानीय बासिन्दालाई आईपरेका समस्या तथा बाढी र डुबानको अवस्था बारेमा बुझ्नका लागि माननीय प्रदेश प्रमुखज्यूबाट स्थलगत भ्रमण भएको हो’, प्रदेश प्रमुख कार्यालय जनकपुरका सचिब गैंडाले भने, ‘विभिन्न मिडियामा आएजस्तो सिमा अतिक्रमणमा ठूलो समस्या नदेखिएको बरु असरल्ल र अव्यवस्थित देखिएको हुँदा दुवै देशको आपसी समझदारीमा व्यवस्थपानको खाँचो रहेको देखिएको छ, सर्लाही स्थित दशगजामा दुवै देशको तर्फबाट नभई नागरिक स्तरबाट अव्यवस्थित बसोबास एवं प्रयोग भएको देखियो । त्यस्तै केही ठाउँमा पिलरहरु पुननिर्माण, मर्मत संभार लगायत गर्नुपर्ने अवस्था पनि रहेछ ।’

सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासी परिसरमा वृक्षारोपण गर्दै प्रदेश प्रमुख राजेश झा ।

सर्लाहीमा भारतीय सिमाक्षेत्र ५१ किलोमिटर पर्दछ ।

दक्षिणी क्षेत्र स्थित भाँडसरमा जलमग्न क्षेत्रको निरीक्षण गर्दै प्रदेश प्रमुख राजेश झा ।