logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

वन मन्त्रीबाट वृक्षारोपणको शुभारम्भ


  • उज्यालो अभियान

लालबन्दी – राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रदेश २ मा १४ लाखभन्दा बढी बिरुवा रोप्ने अभियान शुरु भएको छ ।


सोमवार सर्लाहीसहित प्रदेशका आठवटै जिल्लामा एकसाथ यो अभियानको शुभारम्भ गरिएको हो । अभियानको सर्लाहीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश रायले शुभारम्भ गरेका छन् ।


उनले लालबन्दी नगरपालिका-६, स्थित लालबन्दी साझेदारी वन परिसरमा वृक्षारोपण गर्दै अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्री रायले अब पनि वृक्षारोपण नगर्ने हो भने प्रत्येक मानिसले बाच्नका लागि साथमै अक्सिजन सिलिण्डर बोकेर हिँड्नु पर्ने अवस्था आउन सक्ने बताए ।


वृक्षारोपण अभियान अन्तर्गत लालबन्दी साझेदारी वनमा १.३ हेक्टर, हरिपुर नगरपालिका-१, सानो जगतपुरमा ८ हेक्टर र बागमती नगरपालिका-६, हजरियामा ८ हेक्टर क्षेत्रफलमा वृक्षारोपण गर्ने योजना रहेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले जानकारी दिए । यो अभियानअन्तर्गत सात दिनसम्म प्रदेशभर वृक्षारोपण गरिने छ ।


आठवटै जिल्लाको कुल एक हजार १३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७९६ वटा विरुवा रोप्ने कार्यक्रम रहेको प्रदेश २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलले बताए ।


यसैबीच राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा हरिपुर नगरपालिका-७, स्थित लक्ष्मीनाथ सामुदायिक वन परिसरमा सोमवार वृक्षारोपण गरिएको छ । ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिड्रेनको साझेदारीमा संचालित सम्मुन्नति परियोजना अन्तर्गत वनमा वृक्षारोपण गरेको हो ।


संस्थाका उपाध्यक्ष विष्णु चालिसेका अनुसार हरिपुर नगरपालिकाकी उपमेयर रेणुका देवी काफ्ले, सोही वडाका वडाध्यक्ष हृदय नारायण पंजियार, युवा क्लबका अध्यक्ष जिवश धामी, संस्थाकी अध्यक्ष गोमा देवी न्यौपाने, सचिव सूर्य प्रसाद चालिसे, कोषाध्यक्ष सीमा कोइराला लगायतको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।

यस्तै, हरिपुर नगरपालिका-१, हजारविगाहमा रहेको पाँच कुमार राम औतार लक्षिया माविको प्राङ्गणमा पनि संस्थाकै अग्रसरतामा वृक्षरोपण गरिएको छ ।


त्यहाँ वडाध्यक्ष कुमार लामा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंह, विद्यालयका प्रधानाध्यापक विनोद कुमार मिश्र लगायतको उपस्थितिमा वृक्षरोपण गरिएको छ ।