logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

जेसिबीले ठक्कर दिई वडाध्यक्षको हत्या, जेसिबीका ठेकेदार र चालक पक्राउ


  • उज्यालो अभियान

वडाध्यक्ष श्रेष्ठ ।

लालबन्दी – जिल्लाको ईश्वरपुर नगरपालिका-३, भक्तिपुरका वडाध्यक्ष सूर्य कुमार श्रेष्ठको सुक्रवार राती हत्या भएको छ ।

वडाध्यक्ष श्रेष्ठको जेसिबी चालकसँग विवाद भएर जेसिबीले ठक्कर दिई हत्या गरिएको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

राती अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको बुझिन्छ । राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भयो ।

सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले उज्यालो अभियानसँग बताए । पूर्व योजना नभई आवेशमा आई घटना भएको देखिएको एसपी राठौर बताउँछन् ।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा पुर्‍याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर नगरपालिका-३, कै ३५ वर्षीय पे्रमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका-१, का ३८ वर्षीय रविन भन्ने हर्क बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिवार बिहान ५ः४० बजेतिर लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले बताए । उनीहरु दुवैलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको छ ।

मृतक अन्जादी ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । घटना लगत्तै एसपी राठौरको नेतृत्वमा प्रहरी परिचालन भएको थियो ।