logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

९१ वर्षीया वृद्धाले जितिन कोरोना, अस्पतालबाट सम्मानसहित बिदाई


  • उज्यालो अभियान

अस्पतालबाट कोरोनामुक्त भई वृद्धालाई घरतर्फ पठाइँदै ।

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेबाट ९१ वर्षीया वृद्धा कोरोना संक्रमणलाई परास्त गरेर घर फर्किएकी छिन् ।

एक साताअघि प्राथमिक स्वास्थ्य केन्द्रको अस्थायी कोभिड अस्पतालमा भर्ना भएकी लालबन्दी नगरपालिका-१९, रानिगन्जकी थिनमाया पूर्वछानेको वुधवार (हिजो) कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि वुधवार साँझ अबेर सम्मानका साथ घर पठाइएको हो ।

पुरानो डाइबेटिज र पे्रसरको बिरामी उनलाई प्रादेशिक अस्पताल जनकपुरले उपचार गर्न नसकेपछि सुविधा सम्पन्न अस्पतालमा लान सुझाव दिएको थियो । तर पूर्वाछाने परिवारले उनलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि लान नसकेपछि लालबन्दीकै प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर भर्ना गराए ।

९१ वर्षीया वृद्धाले यहीँको औषधि उपचारबाट कोरोनालाई जितेर सबैलाई प्रेरणा प्रदान गरेको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं लालबन्दी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गोपाल प्रसाद घिमिरेले दोसल्ला ओढाई सम्मानका साथ अस्पतालबाट बिदाई गरेका हुन् ।

यस्तै, सोही अवसरमा वृद्धाको उपचारमा संलग्न प्राथमिक स्वास्थ्य केन्द्र कोभिड अस्पतालका डा. हर्ष नारायण झालाई पनि वडाध्यक्ष घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका केन्द्रका हेल्थ असिस्टेन्ट राज कुमार सिंहले जानकारी दिए ।