कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं तथा उपस्थित प्रमुख अतिथि डिल्लीप्रसाद उप्रेती लगायत अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले आज(बुधबार) आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुको राय सुझाव लिएको छ ।
छैठौं नगर सभाको पूर्वसन्ध्यामा सगुन सहकारीको सभा हलमा बुधबार बिहान एक कार्यक्रमका बीच नीति तथा कार्यक्रममा के–कस्ता योजनाहरु समेट्दा उपयुक्त हुन्छ भनेर राय सुझाव संकलन गरिएको हो । सहभागीहरुले प्रविधियुक्त शिक्षा, कोरोना संक्रमण नियन्त्रण र आम नागरिकले झेल्नु परेका समस्या हल हुने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् । जिल्लाका अन्य पालिकाहरु झैँ हरिवन नगरपालिकाले पनि विहिबार आफ्नो छेठौं नगर सभामा नीति, कार्यक्रम र बजेट ल्याउँदै छ ।
नगर प्रमुख गणेश प्रसाद प्रसाईको अध्यक्षता तथा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित सुझाव संकलन कार्यक्रममा भूमि सम्वन्धी आयोगका जिल्ला अध्यक्ष राज कुमार राय, नगरभित्र क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत खरुदेव चूडाल र अन्य कर्मचारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा समेत गरिएको छ ।