logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बाढी तथा डुबानको प्रदेश स्तरीय पूर्व तयारी अभ्यास


  • उज्यालो अभियान

उद्धारको पूर्व तयारी अभ्यास गर्दै सुरक्षाकर्मीहरु ।

बागमती – बागमतीमा शनिवार बिहान बाढी तथा डुबानको समयमा गरिने उद्धार कार्यको प्रदेश २ स्तरीय संयुक्त अभ्यास गरिएको छ ।

प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामले बागमती नगरपालिकाद्वारा निर्माणाधीन १२१ बिघाको तालमा संयुक्त अभ्यास कार्य सम्पन्न गरेको हो । कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाढी तथा डुबान हुँदा गरिने उद्धारबारे संयुक्त रुपमा अभ्यास प्रस्तुत गरेका थिए ।

त्यहाँ बोटबाट गरिने उद्धार र डोरी तानेर गरिने उद्धारको अभ्यास देखाइएको थियो । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्रदेशभित्रका आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सबै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश २ सरकारका प्रमुख सचिव गोकणर्मणि दवाडी, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव यामप्रसाद भुषाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादव, बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, मलंगवा नगरपालिकाका प्रमुख निरसल साह, प्रदेश प्रहरीका प्रमुख डीआईजी धीरज प्रताप सिंह, सशस्त्र प्रहरीका प्रदेश प्रमुख डीआईजी चन्द्रप्रकाश गौतमलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला मन्त्री यादवले बर्षायाममा प्रदेशका सबै जिल्लामा बाढी तथा डुबानको समस्या हुने भएकाले प्रभावितहरुको उद्धार र सुरक्षित बसाईको व्यवस्थापनमा जुट्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए ।

केही दिन पहिले सर्लाहीका सुरक्षा निकायले बागमतीको सोही तालमा जिल्ला स्तरीय बाढी तथा डुबानको पूर्व तयारी अभ्यास गरेका थिए । उद्दार अभ्यासमा नेपाली सेनाले सिकाएकाे राष्ट्रिय सेवा दलकाे टाेली समेत संलग्न थियाे ।