डुमरियामा सडकभन्दा निकै अग्लोगरी नाला निर्माण गरिएपछि देखिएको दृष्य । (तस्बिर : उज्यालो अभियान)
बलरा – सर्लाहीको बलरा नगरपालिका–७, डुमरियामा सडक भन्दा अग्लो नाला निर्माण गर्दा घरहरु डुबानमा पर्ने जोखिम बढेको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।
आफूहरुले विरोध गर्दा गर्दै डुबानको ख्याल नगरी मनपरी किसिमले नाला निर्माण गरिएको स्थानीयहरुको भनाई छ । स्थानीयवासी अशोक कुमार झाले अराजक किसिमले जवरजस्ती नाला निर्माणको काम गरिएको जानकारी दिए । अग्लो नालाले पानी निकास नहुँदा गाउँका दर्जनौँ घर डुबानमा पर्ने निश्चित रहेको झाको भनाई छ । केही स्थानीयको जिकिरका कारण जनप्रतिनिधिहरुले समेत पूरै वेवास्ता गरेर गाउँलाई नै जोखिम पार्ने गरी नाला निर्माण भएको झाले आरोप लगाए ।
तर बलरा नगरपालिका–७, का वडाध्यक्ष अवधेश मण्डलले भने स्थानीय वासिन्दाकै सहभागितामा नाला निर्माण भइरहेको र विपक्षीहरुबाट विरोध भएपनि गाउँलेहरुको कुनै किसिमको असन्तुष्टी नरहेको दावी गरेका छन् । उनले नालाले गर्दा बस्ती डुबानमा पर्ने जोखिम नरहेको समेत जिकिर गरे ।
सडक भन्दा एक फिट अग्लो तथा ३६ मिटर लामो नाला निर्माण गर्न नगरपालिका कार्यालयले ३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको वडाध्यक्ष मण्डलले बताए । असन्तुष्ट स्थानीयवासीले भने करिव ३ फिटको नाला निर्माण भएको बताएका छन् । नाला निर्माण भएको सडक ३ वर्ष अघिनै ढलान भएको थियो । बलरा नगरपालिकाका प्रमुख अभय कुमार सिंहले विपक्षी नेताहरुले नाला निर्माणप्रति विरोध जनाएका तर सर्वसाधारण भने खुशी नै रहेको दाबी गरेका छन् । राजनैतिक ईगो र व्यक्ति व्यक्ति बीच निषेधको लडाँईले गर्दा जतिसुकै राम्रो काम गरेपनि विरोधका लागि विरोध हुने गरेको मेयर सिंहको गुनासो थियो ।