हरिवन – हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमण दर बुझ्नका लागि गाउँ–गाउँमै पुगेर एण्टिजेन परीक्षण सूरु गरेको छ । मेयर गणेशप्रसाद प्रसाईंको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले गाउँ–गाउँमा फेला परेका शंकाष्पदहरुको एण्टिजेन परीक्षण तथा संक्रमितहरुको घरमै पुगेर पोषण खाद्य वितरण सूरु गरेको हो ।
शुक्रबार हरिवन नगरपालिका वडा नम्बर १ मा मेयर प्रसाईंको नेतृत्वमा स्वास्थ्य शाखा प्रमुख शशिकान्त सिंह, कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक रामबाबु चौधरी लगायतका स्वास्थ्यकर्मीहरु खटिएका थिए । हरिवन नगरपालिकाका कोभिड फोकल पर्सन चौधरीका अनुसार १९ पुरुष र १८ महिलाको एण्टिजेन परीक्षण गर्दा ६ पुरुष र ३ महिला गरि ९ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका ९ जनालाई नै होम आईसोलेसनमा बस्न आग्रह गरिएको चौधरीले बताए । त्यस्तै एन्टिजेन गर्दा पोजेटिभ देखिएकाहरुको परिवारका सदस्य, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको आगामी सोमबार सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा थ्रोट स्वाब संकलन समेत गरिने छ ।
त्यस्तै मेयर प्रसाईं नेतृत्वको टोलीले हरिवन–१ मा यसअघि नै कोरोना भाईरस पोजेटिभ देखिएर होम आईसोलेसनमा बसेका ३ जना संक्रमितलाई प्रोटिन पाउडर, भिटामिन सी र बी कम्प्लेक्स, जिंक, सिटामोल तथा ५० थान सर्जिकल मास्क, सेनिटाईजर, डिटोल साबुन लगायत सामानहरु प्रदान गरिएको चौधरीले जानकारी दिए । टोलीले कोरोना भाईरस संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने उपायबारे सचेतना गराउँदै बालकदेखि वृद्धसम्मको ज्वरो नाप्ने लगायत काम समेत गरेको थियो ।
संक्रमित भईसकेकाहरुको मनोबल उच्च पार्न विभिन्न भिटामिन लगायत सामग्री वितरण तथा कोरोना भाईरस संक्रमण थप नफैलियोस् भन्दै गाउँ–गाउँमा पुगेर एण्टिजेन परीक्षण अभियान समेत सूरु गरिएको मेयर प्रसाईंले जानकारी दिए । उनले नगरपालिका अन्तर्गत ११ वटै वडा स्थित होम आईसोलेसनमा बसेका संक्रमितहरुको घर–घरमा पुगेर टोलीले आवश्यक सामग्री वितरण गर्ने तथा एण्टिजेन परीक्षण समेत गर्ने जानकारी दिए ।
चौधरीका अनुसार हरिवन नगरपालिकाले कोरोना भाईरस संक्रमणको दोस्रो कहरकालयता हालसम्म ४५२ जनाको पीसीआर तथा ३७ जनाको एण्टिजेन परीक्षण गराईसकेको छ । जसमा २४४ जनालाई पोजेटिभ देखिएको छ । जिल्ला स्थित २० वटा पालिका मध्ये हरिवनले सबैभन्दा बढी परीक्षण गराएको छ भने कतिपय पालिकाले त एकजनाको पनि परीक्षण गराएका छैनन् । त्यस्तै हरिवनमा सासापुर स्थित अस्थायी कोभिड अस्पतालमा ४० बेड अनि सुखेपोखरी स्थित सर्लाही जिवन हेल्थ केयरमा ६० बेडको आईसोलेसन कक्ष सञ्चालनरत छ ।